आरजुको उच्चस्तरीय भेट गराउन दिल्लीमा दौडधूप निरर्थक
काठमाडौं, ६ पौष । बालकोटमा नेकपा एमालेका अध्यष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति बनाएर सरकार परिवर्तन गराउन मुख्य भूमिका खेलेकी थिइन् आरजु राणाले । उनकै भूमिका कारण ओली प्रधानमन्त्री बने र उनले पुरस्कारस्वरुप परराष्ट्रमन्त्री पाइन् ।
आरजु ओलीपछि शक्तिशाली मानिन्छिन् अहिलेको सरकारमा । उनले परराष्ट्रमन्त्री भएलगत्तै भारत भ्रमण गरिन् । दिल्लीमा उनको भव्य स्वागत भयो त्यतिबेला । भारतका विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल र प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरिन् । आरजुले दिल्लीमा आफ्नो स्वागत र सम्मानलाई देशको सम्मान र स्वागत पनि भनिन् स्वदेश फर्किएर । उनको राजनीतिक उचाई पनि बढेको विश्लेषण भयो ।
आरजुलाई कूटनीतिक चार्तुयता भएको समेत भनेर बढाईचढाई गरियो । उनको भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँगको राखी कूटनीति पनि चर्चामा रह्यो । भारतका नेता र अधिकारीसँग सजिलै भेट्न सक्ने प्रभाव देखाइन् आरजुले । तर, सरकारमा गएपछि उनको पछिल्लो भूमिकाका कारण आरजुसँग भेट्न तर्कन थालेका छन् भारतीय अधिकारीहरु ।
यसपटक यूरोप हुँदै भारत पुगेकी आरजुले तीन दिन बसाईका क्रममा पनि कुनैपनि भारतीय उच्च अधिकारीसँग भेट्न पाएकी छ्रैनन् । परराष्ट्र मन्त्रालयका अधिकारी, दिल्लीस्थित दूतावासका अधिकारीका अलावा आफ्नो व्यक्तिगत सहयोगीहरुलाई समेत सक्रिय बनाएर आरजुले भेटको प्रयास गरिन् ।
भारतीय समकक्षी एस जयशंकरसँग भेट नहुने भएको छ । उनी भारतीय प्रधानमन्त्री मोदीसँग कुवेत गइसकेका छन् । परराष्ट्रमन्त्री भारत पुग्दा समकक्षीसँग पनि भेट हुन सकेन । विदेश सचिवसँग भेट नहुने भइसकेको छ ।
आरजुले ओलीको भारत भ्रमण तय गर्ने हल्ला समेत पिटाइयो काठमाडौंमा । तर, उनी स्वयंले कुनैपनि उच्च अधिकारीसँग भेट्न पाइनन् । यतिसम्मकी भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवालेसँग पनि भेट तय हुन सकेन । आरजुले भारतको केन्द्रीय मन्त्री जोकोहीलाई भएपनि भेट्ने प्रयास गरिरहेको बुझिएको छ ।
उपचारको बहानामा दिल्ली पुगेकी आरजु यूरोपबाट उपचारका लागि त्यहाँ पुगेको विश्वास गर्न सकिदैन । उनले एउटा सेमिनारलाई बहाना बनाएकी छिन् । त्यसमा सहभागी पनि भइन् ।
आरजुलाई यसपटक दिल्लीले झट्का दिएको छ । उनले भारतसँगको सम्बन्ध भजाएर व्यक्तिगत राजनीतिक लाभ लिन खोजेको विश्लेषण भइरहेको छ । चीनसँगको बीआरआई फ्रेमवर्क सम्झौतामा मुख्य भूमिका खेलिन् । त्यसमा ओलीलाई साथ दिइन् । काँग्रेसले ऋणमा बीआरआई सम्झौता नगर्ने अडानलाई त्याग्न लगाइन् । यसकारण पनि आरजुप्रति भारत असन्तुष्ट भएको बुझिएको छ ।
यसै हप्ता दिल्ली पुग्दा आरजुलाई विमानस्थलमा स्वागत गर्न भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा पुगेका थिए । भारतले इज्जत धानिदिन उपसचिव पठाएको थियो ।