६ माघ २०८१, आइतबार | January 19, 2025

ओली सरकार ढले आरजुको के होला ?


December 16, 2024
2.7k
Shares

काठमाडौं, १ पौष । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा पर्दै गएको छ । बाहिर नदेखिएपनि सरकारमा संकटमा परेको संकेतहरु मिलिरहेको छ ।

स्वयं ओलीले सरकार ढल्ने प्रयासहरुबारे बोलेका छन् । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई साथमा लिइराख्न सहमति अनुसार सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता सार्वजनिक रुपमा जनाउने गरेका छन् । तर, देउवाले ओली सरकार बनेपछि आफ्ना निकटस्थहरुसँग टाढिनुपरिरहेको छ ।

विश्वस्त स्रोतका अनुसार देउवानिकट मानिएका पूर्णबहादुर खड्का, एनपी साउद, बालकृष्ण खाँड जस्ता काँग्रेसका हस्तीहरु टाढिइरहेका छन् । प्रकाशशरण महत पनि देउवापत्नी आरजु राणाका कारण बुढानिलकण्ठबाट टाढिदै गएका छन् ।

देउवाले आरजुलाई भविष्यमा प्रधानमन्त्री बनाउने गरी योजना बुनेको विषय काँग्रेसवृत्तमा चर्चामा छ । आरजुकै पहलमा ओलीसँग देउवाको सहमति बनाएर सरकार बनेको थियो । जसमा उनी परराष्ट्रमन्त्री बनिन् । आरजुलाई छिमेकी भारतले पनि उच्च महत्व दियो । उनले परराष्ट्रमन्त्री बनेपछि गरेको पहिलो भारत भ्रमणमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरिन् ।

आरजुले ओलीको चीन नीतिमा साथ दिइन् । बीआरआई फ्रेमवर्कको सम्झौतामा आरजु नै निर्णायक बनिन् । ऋण या अनुदान नखुलाइएको सम्झौता जति चार्तुयतापूर्ण छ उति नै चार्तुयता देखाउन खोजिन् । उनको हाई हाई गर्नेमा चीनसँग नजिक रहेकाहरु मात्र भएनन् पश्चिमा निकटहरु पनि देखिए । यसले भारत आरजुसँग शतर्क बनेको बुझिएको छ ।

विगतमा सुजाता कोइरालाले पनि भारतसँगको आफ्नो सम्बन्धलाई यसरी नै प्रयोग गरेकी थिइन् । जसका कारण उनको भारतसँगको सम्बन्ध अहिलेसम्म पनि सुमधुर छैन । सुजातालाई गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री बनाउने असफल प्रयास गरे । तर, सुजाताको राजनीतिमा धक्का लाग्दै गयो ।

आरजुको राजनीतिमा पनि विस्तारै धक्का लाग्ने देखिएको छ । देउवालाई साथ दिने तर आरजुलाई नदिने योजनामा देउवाकै विश्वासपात्रहरु देखिएका छन् । यसकारण ओली सरकार ढलेमा सबैभन्दा ठूलो धक्का आरजुलाई नै लाग्न सक्छ ।

प्रतिक्रिया