६ माघ २०८१, आइतबार | January 19, 2025

अख्तियारका कर्मचारीलाई किस्पाङ गाउँपालिकाका प्रशासकीय अधिकृतले दिए खामभित्र घुस


December 15, 2024
747
Shares

काठमाडौँ, मङ्सिर ३० गते । सेवा प्रवाहका क्रममा कसैले अनियमितता गरेमा वा आर्थिक लाभ लिन खोजेमा नियन्त्रण गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने निकायका रूपमा चिनिन्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने आयोगका कर्मचारीलाई अर्को सरकारी कार्यालयका कर्मचारीले नै घुस दिएर आफ्नो अनियमितताको घटना मिलाइदिन अनुरोध गर्‍यो भन्दा पत्यार नलाग्न सक्छ ।

तर, शुक्रबार यस्तै एक घटना भएको छ आयोगको क्षेत्रीय कार्यालय कञ्चनपुरमा । सित्तिमिति पत्याउन मुस्किल पर्ने यस्ता घटना नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवप्रसाद सापकोटाको क्रियाकलापबाट पुष्टि भएको छ । सापकोटाले आयोगको कार्यालयमै पुगेर अनुसन्धान अधिकृतलाई एक लाख रुपियाँ घुस दिने कोसिस गर्नुभएको छ ।

आफूसँग सम्बन्धित भ्रष्टाचारको घटना मिलाइदिन अनुरोध गर्दै घुस रकम लिएर नुवाकोटदेखि कञ्चनपुर पुग्नुभएका सापकोटा पहिलो घटनाको छिनोफानो नहुँदै घुस रकमका कारण आयोगको नियन्त्रणमा पर्नुभएको छ ।

आयोगका अनुसार सापकोटा केही समयअघि अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहनुभएको थियो । सापकोटा प्रमुख प्रशासकीय अधिकृत रहँदा सोही गाउँपालिकाको मेसिनरी सामान खरिदमा भएको अनियमितता भएको सम्बन्धमा यही मङ्सिर ८ गते उजुरी परेपछि आयोगले अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीहरूको बयानसमेत लिइसकेको आयोगले जनाएको छ । थप अनुसन्धान जारी छ तर सापकोटाले शुक्रबार सोही विषयसँग सम्बन्धित रहेको कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई घुस रकम बुझाउन खोजेका थिए । हरियो रङको झोलाभित्र रहेको कागजातसहितको खाममा शङ्का लागेपछि अनुसन्धान अधिकृतले सापकोटालाई उक्त खाम आफैँ खोल्न आग्रह गरेका थिए ।

अनुसन्धान अधिकृतलाई बुझाउन खोजिएको झोलाभित्र दुई वटा खाम थिए । पहिलो खामभित्र ३१ थान कागजात थियो । अर्को खामभित्र भने एक हजार रुपियाँ दरको ९६ थान नोट तथा पाँच सय रुपियाँ दरको आठ थान गरी एक लाख रुपियाँ रकम रहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो ।

खामभित्र पैसा देखेपछि अनुसन्धान अधिकृतले सापकोटालाई ‘यो केको पैसा हो रु’ भनी प्रश्न गरेका थिए । सापकोटाले ‘मुद्दा मिलाइदिन तपाईंका लागि स्वेच्छाले नै ल्याएको हो’ भन्ने जवाफ फर्काउनुभएको थियो । उक्त रकम अनुसन्धान अधिकृतलाई घुस दिने मनसायले ल्याएको भनी आयोगको टोलीले सापकोटालाई शुक्रबार नै नियन्त्रणमा लिएको छ । आयोगका अनुसार सापकोटामाथि थप अनुसन्धान भइरहेको छ । गोरखापत्र

प्रतिक्रिया