२३ पुस २०८१, मंगलबार | January 8, 2025

बाढीपहिरो प्रभावित परिवारका लागि भारतले दियो आपतकालिन सामाग्री


October 7, 2024
498
Shares

काठमाडौं, २१ असोज । देशमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारतले आपतकालीन राहत सामग्री सहयोग गरेको छ । आपतकालिन सामाग्रीको खेप भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेका छन् ।

आपतकालिन सामाग्रीमा टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको सहायता रहेको जनाइएको छ । उक्त मानविय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याई पुर्‍याइएको हो । भारत सरकार अन्य अत्यावश्यक सरसफाई सामाग्री तथा औषधीका साथसाथै अन्य राहत सामाग्रीको पनि व्यवस्था गरिरहेको र छिट्टै आइपुग्ने जनाइएको छ ।

भारतले संकटको बेला पहिलो रेस्पोन्डरको रुपमा सहयोग गर्दै आएको छ । २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद् राहत अभियान सञ्चालन गरेको थियो । भारतले २०८० साल कार्तिकमा जाजरकोटमा भूकम्प गएपछि पनि राहत सामाग्री उपलब्ध गराई सहयोग गरेको थियो ।

प्रतिक्रिया