२४ भदौ २०८३, बुधबार | September 9, 2026

लोप्रेको पहिरोले तीन गाउँ जोखिममा, वर्ष दिन बित्दा पनि नियन्त्रणको काम अघि बढेन


September 9, 2026
415
Shares

काठमाडौं । पर्वतको जलजला गाउँपालिका–२ लोप्रेबाट खसेको पहिरोका कारण आसपासका कम्तीमा तीन गाउँ उच्च जोखिममा परेका छन्। पहिरोका कारण मल्लाज, पूर्णगाउँ, नेपानेलगायतका बस्ती प्रभावित बनेका हुन्।

स्थानीयका अनुसार २०८१ सालदेखि निरन्तर खसिरहेको पहिरोका कारण घर, जमिन तथा बस्ती नै जोखिममा परेको छ। पहिरोले आसपासका तालसमेत पुरिन थालेका छन् भने बस्ती र पहिरोको डिलबीचको दूरी निकै कम भएकाले स्थानीयलाई राति सुत्नसमेत डर लाग्ने अवस्था रहेको छ।

स्थानीय जीवन केसीले पहिरोका कारण आफ्नो घरसमेत जोखिममा परेको बताए।

“२०८१ सालदेखि लोप्रेबाट आएको पहिरोले मेरो घरसहित अन्य २/३ घर पनि जोखिममा परेका छन्। खेतीयोग्य जमिनहरु मासिएका छन् । यहाँको धार्मिकस्थल बराह ताल पनि पुरिएको छ, बस्न र राति सुत्न पनि डर लाग्छ । डिलबाट २–३ मिटर पनि ठाउँ छैन,” उनले भने, “जतिसक्दो चाँडो सरकारले हामीलाई जोखिममुक्त गराइदिनुपर्छ।”

स्थानीयले पहिरोको तत्काल व्यवस्थापन तथा नियन्त्रण गरी बस्ती र नागरिकको बसोबास सुरक्षित बनाउन सरकारसँग माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय तथा गाउँपालिकाका प्रतिनिधिले पटक–पटक पहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा अवलोकन गरे पनि अहिलेसम्म नियन्त्रण र व्यवस्थापनका लागि ठोस काम अघि बढ्न नसकेको उनीहरूको गुनासो छ।

स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरी पहिरो नियन्त्रण तथा बस्ती संरक्षण गर्ने आश्वासन दिएको छ। तर, वर्षौंदेखि पहिरोको जोखिम झेलिरहेका स्थानीय भने आश्वासनले मात्रै ढुक्क हुन नसकेको बताउँछन्।

“पहिरो खसिरहेको छ, घरको डिलसम्म आइपुगेको छ, तर नियन्त्रणको काम कहिले सुरु हुन्छ भन्ने टुंगो छैन,” स्थानीयको गुनासो छ।

वर्ष दिनभन्दा लामो समयदेखि पहिरोको जोखिममा रहेका बस्तीको संरक्षणमा स्थानीय निकायले पर्याप्त चासो नदिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। उनीहरूले सम्भावित मानवीय तथा भौतिक क्षति हुनुअघि नै तत्काल पहिरो नियन्त्रण, व्यवस्थापन र जोखिममा रहेका परिवारको सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया