२ आश्विन २०८१, बुधबार | September 19, 2024

पौडी संघमा बालेनका जगतमानबाट ‘हात्ति आतंक’


September 12, 2024
5.4k
Shares

काठमाडौं, २७ भाद्र । नेपाल पौडी संघभित्र कमाऊ धन्दा चलेको छ । संघमा यसैपनि दुईवटा समानान्तर अध्यक्ष छन् । एकातर्फ जगतमान श्रेष्ठ र अर्कातर्फ अशोक बज्राचार्य छन् । अन्तर्राष्ट्रिय पौडी संघले बज्राचार्यलाई मान्यता दिएको छ । देशभित्र श्रेष्ठ र देशबाहिर बज्राचार्यले मान्यता पाइरहेका छन् ।

संघले हरेक वर्ष पौडी प्रतियोगिता गर्छ । यसपर्ष पनि एनएसए प्रतिष्पर्धा असोजमा गर्दैछ । त्यसका लागि नाम दर्ता खुलेको छ । विगतका वर्षमा हरेक खेलाडीले पाँच सय तिरे पुग्नेमा यसवर्षबाट दोब्बर बढाएर हात्तिको तस्बिर रहेको नोट अर्थात् हजार पुर्याइएको छ । यसलाई हात्ति आतंकको संज्ञा दिइएको छ ।

विगतका वर्षमा जति इभेन्ट खेलेपनि एउटै दर्ता शुल्कले पुग्दथ्यो । यसपटक भने जगतमान श्रेष्ठ नेतृत्वको संघले तीनवटा भन्दा बढी इभेन्ट खेलेमा प्रत्येक इभेन्टको एक हजार थप्नुपर्ने नियम बनाएको छ । यसको मतलब १० इभेन्टमा प्रतिष्पर्धा गर्नेले थप ७ हजार तिर्नुपर्छ ।

पौडीमा धेरै इभेन्ट हुन्छन् र एउटे प्रतिष्पर्धीले धेरै इभेन्टमा प्रतिष्पर्धा गरेर पदक पनि जित्छन् । ओलम्पिकमा समेत एउटै खेलाडीले धेरै इभेन्ट खेलेर जितेको इतिहास धेरै छन् । नेपालकी गौरिका सिंहले पनि एउटै साफ खेलकूदमा पौडीमा धेरै इभेन्ट खेलेर पदक जितेकी थिइन् ।

श्रेष्ठ नेतृत्वको संघले भने खेलाडीलाई रोक्न र हतोत्साही बनाउने गरी दर्ता शुल्कमा कहीं नभएको जात्रा हाडीगाउँमा बनाएका छन् । यसबारे संघका अध्यक्ष जगतमान श्रेष्ठसँग बुझ्दा धेरै खेलाडीले धेरै इभेन्ट खेलेकाले तीनभन्दा बढी इभेन्ट खेल्नेका लागि दर्ता शुल्कमा थप हजार रुपैयाँ बनाएको बताए । उनले संघ दर्ता शुल्कको निर्णयबाट पछि नहट्ने समेत बताए । यसरी संघ कमाऊ धन्दामा केन्द्रित भएको छ जबकि खेलाडी जन्माउन उसको खासै योगदान नै छैन ।

सातदोबाटोस्थित हिटिङ पौडीपोखरी चलाउन पनि संघको योगदान छैन । उक्त पोखरी चलाउन खेलाडीका अभिभावक र प्रशिक्षक नै सक्रिय भएका थिए । यतिसम्मकी खेलाडी विदेश खेलाउन लैजाँदा समेत संघले पैसा असुल्ने गरेको छ । जसका कारण पौडीमा जस्ले पैसा खर्च गर्छ उही विदेश खेल्न जान्छ भनेजस्तो भएको छ ।

नेपालमा खेल पदाधिकारी खेलाडी जन्माउन भन्दा पनि विदेश सयरमा केन्द्रित हुँदै आएका छन् । पौडी संघको पनि त्यही हालत छ । खेलाडीलाई संघले आफ्नो सम्पत्ति ठानेको छैन । बरु खेलाडीको नाममा आफू विदेश जाने र बजेट चलाउने गर्दै आएका छन् । खेलाडीहरुले आफ्नै लगानीमा क्षमता अभिवृद्धि गरिरहेका छन् ।

अर्कोतर्फ, पौडी संघमा को अध्यक्ष भन्ने टकराव चलिरहेको छ । संघका समानान्तर अध्यक्ष अशोक बज्राचार्यसँग जगतमान श्रेष्ठ नेतृत्वको संघ कमाऊ धन्दामा लागेकोबारे सोध्दा आफूहरुले यसबारे आन्तरिक छलफल गर्ने बताए । तर, उनले छलफलबाट के नतिजा निकाल्नेतर्फ लाग्नेबारे स्पष्ट पारेनन् । उनले दर्ता शुल्कबारे गुनासाहरु आफूले सुनेको भने बताए ।

पौडीसंघको आधिकारिक फेसबुकपेजमा ब्यापक विरोधहरु लेखिएका छन् । दर्ताशुल्कबारे खेलाडी, अभिभावक र प्रशिक्षकहरुले समेत प्रतिक्रिया लेख्दै संघ कमाऊ धन्दामा लागेको भनेका छन् । तर, संघका अध्यक्ष जगतमान श्रेष्ठ आफू काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको खास मान्छे भन्दै अहंकार देखाइरहेका छन् ।

उनी शुल्क आतंकबाट पछि नहट्ने अडान लिन्छन् । रोचक त यो छ कि जगतमान श्रेष्ठलाई साथ दिने संघका महासचिव ईश्वर कार्की छन् । उनी पौडीका प्रशिक्षक रहिसकेका र खेलबारे लामो अनुभव हासिल गरेका हुन् । उनले समेत हात्ति आतंक मच्चाउन लगाउनुले कमाऊ धन्दालाई पुष्टि गर्दछ ।

विगतमा प्रहरी सेवामा रहेर निवृत्त भएका जगतमान श्रेष्ठ अहिले बालेन साहसँग नजिक छन् । उनको विगतका कार्यशैलीपनि विवादमुक्त छैन । नेपालीपेनले यसबारे तथ्यसहित समाचार प्रकाशित गर्नेछ ।

प्रतिक्रिया