२ आश्विन २०८१, बुधबार | September 19, 2024

हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे तीन दिने अन्तराष्ट्रिय सम्मेलन


September 10, 2024
4.6k
Shares

काठमाडौं, २५ भाद्र । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्बन्धमा तीन दिने अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । भाद्र २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका बारेमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

तीन दिन हुने सम्मेलनमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र भुटानका प्राध्यापक, वैज्ञानिक र जलवायु तथा वातावरणको क्षेत्रमा कार्यरत विज्ञहरू सहभागी हुने सम्मेलन आयोजक समितिका संयोजक निकेश कुमार लम्सालले जानकारी दिए ।

कार्यक्रममा म्यानमारलगायत दक्षिण एसियाली राष्ट्रका प्रतिनिधिहरूले जलवायु परिवर्तन, वातावरणीय प्रभाव र यसको असर सम्बन्धी विभिन्न प्रस्तुति दिने छन् ।
विभिन्न देशका विज्ञहरूको सहभागिता रहने कार्यक्रममा पच्चिस भन्दा बढी कार्यपत्रहरू प्रस्तुत हुनेछन् । कार्यक्रममा केही देशका विज्ञहरू पनि अनलाइनमार्फत् जोडिने छन् भने सेमिनारको अन्त्यमा काठमाडौं घोषणापत्र जारि हुनेछ ।

स्थानीय तथा परम्परागत ज्ञान, वैज्ञानिक अध्ययन अनुसन्धान र प्रभावकारी नीति तर्जुमा गर्दै राष्ट्रहरू बीचको नियमित संवाद र सहकार्यमार्फत् साझा प्राकृतिक स्रोत साधनहरूको समन्वयात्मक एवं समुन्नत सदुपयोग गरी यस क्षेत्रका सम्पूर्ण मानिसहरूको साझा हित रक्षार्थ तीन दिने कार्यक्रम कोषेढुङ्गा हुने अपेक्षा गरिएको संयोजक लम्सालले बताए ।

कार्यक्रमको उद्घाटन सत्र प्रकृति संरक्षण कोषको सभागृह, खुमलटार, ललितपुरमा भाद्र २८ गते हुनेछ भने भाद« २९ र ३० गते प्राविधिक सत्रहरू सञ्चालन गरिने प्रतिष्ठानका उपाध्यक्ष डा. प्रेमराज न्यौपानेले जानकारी दिए ।

सम्मेलन नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), राष्ट्रिय प्रकृति संरक्षण कोष, एशियाली अनुसन्धान केन्द्र– त्रिभुवन विश्वविद्यालय, भारतीय सामाजिक विज्ञान अनुसंधान परिषद, भारतीय प्रबन्ध संस्थान शिलोंग, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) र क्लाइमेट एलायन्स अफ हिमालयन कम्युनिटिजको संयुक्त आयोजनामा हुनेछ ।

प्रतिक्रिया