३१ जेष्ठ २०८१, बिहिबार | June 14, 2024

सुरक्षाकर्मी र कर्मचारी पशुपतिनाथको नाउँमा खुलेआम गोरखधन्दा चलाइरहेका छन् : रायमाझी


31.1k
Shares

प्रकाश रायमाझी । आराध्य देव भगवान श्री पशुपतिनाथको दर्शनार्थ जाने श्रद्धालु भक्तहरूलाई पशुपतिनाथ मन्दिरमा दर्शन गर्दा सहज र सम्मानजनक व्यवहार गरेको पाइएन । आस्थाले आएका दर्शनार्थीहरूलाई मन्दिरभित्रका सुरक्षाकर्मीहरूले धकेल्ने,नमिठो बोल्ने,तान्ने,कठालो समात्ने जस्ता दुर्व्यवहार भएको प्रत्यक्ष देखियो । त्यहाँ खटिएका सुरक्षाकर्मीहरूलाई पैसा खुवाएर दर्शन गर्न आउनेहरूसँग सेटिङ गर्ने गरेको स्पष्ट देखिन्छन् । त्यहाँ बस्ने सुरक्षाकर्मीहरुले चन्दन प्रसाद बोकेर राज्यका हरेक संवेदनशील निकाय प्रमुखहरूमा पुग्ने गरेको भेटिन्छ ।

उनीहरू र भट्टहरूको मिलीमतोमा त्यहाँ साँच्चिकै आस्थाले दर्शन गर्न आउनेहरूलाई दुर्लक्ष वचन बोलेको म आफैले सुनेँ । ती सुरक्षाकर्मीहरू अराजक र पशुपतिनाथको नाउँमा खुलेआम गोरखधन्दा गरिरहेका छन् । तिनीहरूलाई सरुवा गर्दा भारतीय दूतावासबाट फोन गराएर सोही ठाउँमा पुनः टिक्ने गरेको तथ्य सत्य कोषलाई विदितै छ । ती सुरक्षाकर्मीहरू र पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरूको मिलोमतोमा त्यहाँ अनेकौं काण्डहरु घटिरहन्छ । भेटी चोरिनु, दान पात्र हराउनु र अनेकौं काण्ड भइरहन्छ । त्यसको छानबिन गर्न र निराकरण गर्न निकै कठिन छ । पुजारी भट्टहरू पनि बेलुका उनका निवासमा जाने र पूजाको नाउमा मोटो रकम चढाउँनेहरूलाई गर्ने व्यवहार र अरु सर्वसाधारणलाई त्यहाँ जलप्रसाद वितरण गर्दा प्रत्यक्ष भेदभाव गरेको अनुभव गर्न सकिन्छ ।

पूजाको लागि कोषमा रसिद तिरेका भक्तहरुले पनि त्यहाँ राम्रो प्रबन्ध भएको महसुस गर्न सक्दैनन् । प्राचीन इतिहास बोकेको हाम्रो दिव्यभूमिमा धार्मिक व्यापार मात्रै गर्ने हाम्रो उद्देश्य होइन् । आस्था परम्परा दाताहरूले राखेको गुठी संरक्षण मठमन्दिरको जिर्णोद्धार,पुननिर्माण नित्य पूजा, प्रबन्ध आदि जस्ता कार्यहरू पनि त्यत्तिकै महत्वपूर्ण छन् । तर उपेक्षित छन् । ती कार्यमा कोष क्रियाशील देखिन्न । पशुपतिनाथको गजुरमा डमरु त्रिशुल भाँचिएको छ त्यसको मर्मत हुन्न । पूर्वतर्फ सिंहको तल भाग भाँसिएको छ,त्यहाँ पनि संरक्षण गर्न चासो हुन्न । कोषका कर्मचारीहरुले कमाउ धन्दा र आफ्नो स्वार्थपूर्तिमा पशुपतिनाथ जस्तो पावन क्षेत्रलाई बदनाम गरिरहेका छन् । दर्शनार्थीहरूलाई निःशुल्क भोजन,आवास प्राथमिक स्वास्थ्य उपचार जस्ता व्यवस्था पशुपति क्षेत्रमा किन हुँदैन‌ ?? दाताहरूले राखेको गुठी कैयौँ मासिसके, भएका पनि संरक्षण गर्न पशुपति गुठीको सामथ्र्य देखिएको छैन्,त्यहाँ भ्रष्ट कर्मचारीहरूको कारणले । त्यहाँ पनि व्यापक सुधार गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।

दाताहरुले खाई नखाई राखेका गुठीहरू सबै मासिँदै गइसके अहिले पशुपतिनाथलाई ठगी खाने व्यक्तिहरूले कमाउ धन्दाको रुपमा पशुपतिनाथको प्रचारप्रसार गरिरहेका छन्। पशुपतिनाथमा उठ्ने भेटि, गुठीको आयस्तरबाट पशुपति क्षेत्रलाई दिव्य भूमिको रुपमा विकास गर्न सकिन्छ,भिख मागिरहनु पर्दैन्, कसैसँग हात थापिरहनु आवश्यक छैन् । मागेर पेट भर्ने हाम्रो पुर्खाको चलन थिएन । जे सकिन्छ आफैले जोहो गर्ने स्वाभिमान भएर पूजा प्रबन्ध गुठी चलाउन परम्परा जोगाउन दाताले राखेको गुठीको आम्दानीबाटै पर्याप्त हुन्छ । हाम्रो संस्कारलाई पशुपति क्षेत्र विकास कोषले अन्देखा गरेको छ । कोषमा नियुक्ति हुने व्यक्तिहरू पनि दाता गुठीलाई माया गर्ने व्यक्तिहरू नभएर दलगत भागबण्डा र स्वार्थ परक व्यक्तिहरुलाई नियुक्ति गरिँदा पशुपति क्षेत्र विकास कोष बेवारिसे बनेको छ । कोषका पदाधिकारी हुन त्यसको निमित्त कागजी सर्टिफिकेटको मापदण्ड राखिएको छ, त्यो गठन आदेश खारेज गरिनुपर्छ ।

जसको इच्छा छ सेवा गर्न चाहन्छ,त्यस्ता व्यक्तिहरुलाई‌ कोषमा पदाधिकारी नियुक्त गरिनुपर्छ । बजारी सर्टिफिकेटको कुनै औचित्य छैन् । अन्तस्करणदेखि जो निष्ठा राख्छ, कोषमा केही गर्छु भन्ने पवित्र उद्देश्य लिन्छन् त्यस्ता व्यक्तिहरूलाई नियुक्ति दिने हो भने कोषले गति पाउँथ्यो। हुँडारहरूलाई नियुक्ति गर्ने गलत प्रवृत्तिले अहिले पशुपति क्षेत्र विकास कोष विकृति र विसंगतिले ढाकिएको छ । कोषको आम्दानीलाई पारदर्शी बनाइनुपर्छ‌ । पशुपति क्षेत्रलाई सुन्दर व्यवस्थित संसारभरिका हिन्दुहरुलाई दर्शन गर्न आउँदा विशिष्ट अनुभूति होस् अनि त्यो सन्देश लिएर दर्शनार्थीहरु स्वेदश फर्किउन ।

नेपाली साँच्चिकै पवित्र तपोस्थलमा बसिरहेछन् । बासिन्दाहरु साँच्चि कै असल रहेछन्,कोषका कर्मचारीहरु, पदाधिकारीहरू इमान्दार, धार्मिक आस्था भएका,विश्वजगतलाई प्रभाव पार्न सक्ने व्यक्ति रहेछन् भन्ने सन्देश जानुपर्छ। त्यहाँ पैसा खुवाएर नियुक्ति हुने र उठ्र्तीर्पूर्ति,बुझाउनुपर्ने दलीय राजनीतिको संकिर्ण सोचको छायाँ पशुपति विकास कोषमा पर्न दिनु भएन । समस्त हिन्दू धर्मालम्बीहरूले त्यस क्षेत्रको जगेर्ना गर्नुपर्छ भन्ने मान्यता राख्छन् भने अन्य धर्मालम्बीहरु र सम्प्रदायले पनि प्राचीनतम, संस्कृति र इतिहास, धार्मिक धरोहरलाई जोगाउन हर क्षेत्रबाट प्रयत्न गर्नैपर्छ । पशुपति क्षेत्रलाई नमुनाको रुपमा विकास गर्नुपर्छ ।

त्यहाँका झारपात, रुखबिरुवा, चराचुरुङ्गी, जनावर, पशुपंछी सबैको आफ्नै अस्तित्व छ । यो देवभूमि हो। त्यहाँ कुनै भेदभाव हुनुहुँदैन। व्यक्तिगत स्वार्थ हुनुहुँदैन, केवल राष्ट्रिय हित र विश्व शान्तिको लागि हामीले कामना गर्नुपर्छ त्यस क्षेत्रमा । उच्च सोच,उच्च मनोबलका साथै इमान्दार भएर पशुपति क्षेत्रलाई जोगाउनुपर्छ। बागमतीस्थित घाटको दुुरावस्था छ,व्यवस्थित र स्वच्छ हराबरा सुन्दर वन विहार गर्ने पवित्र धार्मिकस्थलको रुपमा जोगाउनु पर्छ । मात्र पैसा–पैसा भनेर धर्मका नाउँमा हाम्रा पूर्वजहरुले भिख माग्न सिकाएका छैनन्,यो पनि ख्याल राख्नुपर्छ । कोष धनी छ त्यसका अथाह सम्पत्तिहरूलाई व्यवस्थित गर्ने हो भने पशुपति क्षेत्रलाई विकास गर्न माग्ने भएर हात थापेर बस्नुपर्ने अवस्था छैन् । जे छ मिठो मसिनो खाएर पूर्वजले राखेको धरोहरलाई जोगाउन हामीले कम्मर कस्नै पर्छ ।

(लेखक रायमाझी राजनीतिक विश्लेषक हुन् ।)

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया