संसददेखि सर्वोच्चसम्म तरंग : सपना प्रधान मल्लमाथि रास्वपाको सीधा प्रहार
काठमाडौं — प्रधान न्यायाधीश सिफारिस विवाद अब सर्वोच्च अदालतको सीमाभन्दा बाहिर पुगेर संसदमा समेत चर्किएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि सार्वजनिक रूपमा प्रश्न उठाउँदै न्यायपालिका–राजनीति टकरावको संकेत दिएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरूले मल्लले संवैधानिक परिषद्को सिफारिसविरुद्ध परेको दरपीठ निवेदन दर्ता गर्न दिएको आदेशलाई लिएर आपत्ति जनाए।
“यो कस्तो आदेश हो ?” — सांसद न्यौपाने
अधिवक्तासमेत रहेका सांसद यज्ञमणि न्यौपानेले अदालतको आदेश प्रक्रिया र संवैधानिक आधारमै प्रश्न उठाए।
उनले संसदमा भने—
“सर्वोच्च अदालत कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेश भन्ने एउटा आदेश अहिले मिडियामा छरपस्ट आएको छ। यो आदेश एकल हो, संयुक्त हो, बृहत् इजलास हो वा पूर्ण इजलास हो — केही स्पष्ट छैन। संविधानको कुन धाराले गाइड गरेको हो ? अदालतका आफ्नै मर्यादा र सीमा हुन्छन्।”
न्यौपानेले मल्लको कदम “कन्फ्लिक्ट अफ इन्ट्रेस्ट” झल्किने खालको रहेको आरोपसमेत लगाए। उनका अनुसार अदालतले न्याय प्रशासनको दायराभन्दा बाहिर गएर विवादास्पद भूमिका खेलेको देखिएको छ।
समीक्षा बास्कोटाको चुनौती : “राजनीति गर्न मन भए कोट खोलेर आउनुहोस्”
रास्वपा सांसद समीक्षा बास्कोटाले भने मल्लको सार्वजनिक अभिव्यक्तिमाथि सीधै प्रहार गरिन्।
उनले भनिन्—
“उहाँले ‘लडाइँ अझै बाँकी छ’ भन्नुभएको छ। कससँग लडाइँ बाँकी छ ? उहाँ त न्यायमूर्ति हो। सरकारसँग लडाइँ बाँकी छ भन्न खोज्नुभएको हो ? राजनीति गर्न मन भए कोट खोलेर आउनुहोला, हामी तयार छौँ।”
उनको यो अभिव्यक्तिपछि संसदमा केहीबेर तनावपूर्ण अवस्था बनेको थियो।
सर्वोच्चको विवाद संसदमा
चौथो वरीयताका डा। मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिस गरिएको विषयमा सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गरेपछि विवाद सुरु भएको थियो। त्यसपछि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले निवेदन दर्ता गर्न आदेश दिएकी थिइन्।
तर उक्त आदेशपछि अदालतभित्रै कर्मचारी ‘भागाभाग’ भएको, वकिलहरूले आन्दोलनको तयारी गरेको र अहिले संसदमा समेत न्यायपालिकामाथि प्रश्न उठ्न थालेपछि यो प्रकरणले राष्ट्रिय राजनीतिक रूप लिने संकेत देखिएको छ।

