२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

प्रधान न्यायाधीश सिफारिसपछि शर्मा किन इजलासमा बसेनन् ?


166
Shares

काठमाडौं, २ जेठ । संवैधानिक परिषद्ले गत वैशाख २४ गते सर्वोच्च अदालतका न्यायाधीश डा। मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेपछि सर्वोच्च अदालतभित्र नयाँ तरंग देखिएको छ । सिफारिस भएयता न्यायाधीश शर्मा कुनै पनि इजलासमा बसेका छैनन् ।

वैशाख २५ गते सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी ‘फुलकोर्ट’ बैठक बसेको थियो । बैठकका क्रममा न्यायाधीश शर्माले “आज मैले मुद्दा हेर्न नभ्याउने भएँ” भन्दै बाहिरिएका थिए । त्यसयता उनले इजलासका लागि गोला नै तानेका छैनन् ।

स्रोतका अनुसार प्रधान न्यायाधीश सिफारिसको विषयलाई लिएर सर्वोच्च अदालतभित्रै मतभेद देखिएको छ । केही न्यायाधीशहरूले संविधान अनुसार सर्वोच्च अदालतमा तीन वर्ष पूरा गरेका कुनै पनि न्यायाधीश प्रधान न्यायाधीश बन्न योग्य हुने भएकाले शर्माको सिफारिसलाई स्वाभाविक मानेका छन् । तर केही न्यायाधीश भने यो निर्णयप्रति असन्तुष्ट देखिएका छन् ।

प्रधान न्यायाधीशमा सिफारिस भएपछि शर्मा कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा इजलास बस्न इच्छुक नरहेको स्रोतको दाबी छ । उनी निकट स्रोतका अनुसार शर्मा अब औपचारिक रूपमा प्रधान न्यायाधीश नियुक्त भएपछि मात्रै इजलासमा फर्किने मनस्थितिमा पुगेका छन् ।

फुलकोर्ट बैठकमा न्यायाधीशहरूबीच घोचपेचको अवस्था बनेपछि अदालतभित्र सहज वातावरण नबनेको बताइन्छ । त्यसैले शर्मा अदालतमा हाजिर भए पनि आफ्नो चेम्बरमै बसेर अन्य प्रशासनिक तथा न्यायिक काम गरिरहेका छन् ।

यता संसदीय सुनुवाइ प्रक्रिया पनि अघि बढिसकेको छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबारदेखि शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । हालसम्म समितिमा शर्माविरुद्ध पाँच वटा उजुरी दर्ता भइसकेका छन् ।

१० दिनको समयसीमा राखेर गरिएको उजुरी आह्वान आउँदो जेठ ४ गतेसम्म खुला रहनेछ । त्यसपछि जेठ ५ गते समितिको बैठक बस्नेछ र उजुरीमाथि सुनुवाइ सुरु हुनेछ ।

यदि संसदीय सुनुवाइ समितिबाट शर्माको नाम अनुमोदन भयो भने राष्ट्रपति Ramchandra poudel उनलाई नेपालको नयाँ प्रधान न्यायाधीशका रूपमा नियुक्त गर्नेछन् ।

अब प्रश्न उठ्न थालेको छ — सर्वोच्च अदालतभित्रको यो असहजता सामान्य प्रक्रिया हो कि ठूलो शक्ति संघर्षको संकेत ?

प्रतिक्रिया