२३ भाद्र २०८१, आइतबार | September 8, 2024

धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंकः पूर्व प्रधान न्यायधिश गोपाल पराजुली


1.3k
Shares

नरेन्द देव येरी, भरतपुर । पूर्व प्रधान न्यायधिश गोपाल पराजुलीले धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंक भएको बताएका छन् । आज भरतपुरमा स्वयंसेवक संघ नेपालको संघ शिक्षा वर्ग–२०८१ को उद्घाटनको अवसरमा उनले धर्मनिरपेक्ष शब्द हिन्दू धर्मविरुद्धको प्रहारका लागि प्रयोगमा ल्याइएको टिप्पणी गरेका हुन् ।

जेठ ११ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने संघ शिक्षा वर्गको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पराजुलीले संविधानमा अङ्कित धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंकका रूपमा रहेको बताए ।
उनले नेपालको हिन्दू राष्ट्रको पहचिानलाई पुर्नस्थापित गर्न हिन्दू स्वयंसेवक संघ अपरिहार्य संगठन भएको बताए । संघको माध्यमबाट नेपाल राष्ट्र निश्चित रूपमा हिन्दू राष्ट्रको बाटोमा अगाडी बढेको उनको भनाई थियो ।

पराजुलीले हिन्दू धर्म दर्शनको महानतालाई विज्ञानले पनि सिद्ध गरिरहेको सन्दर्भमा ॐ शब्दको उत्पत्तिका बारेमा र यस शब्दको महत्वका बारेमा वैज्ञानिकहरूले समेत अनुसन्धान गरी संसारकै ओजस्वी शब्द मानेको उल्लेख गर्दै भने, ‘हाम्रो संविधानमा अङ्कित धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंकका रूपमा रहेको छ । त्यसलाई संविधानबाट हटाई हिन्दूराष्ट्र नेपाल बनाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हुनुपर्ने छ ।’

ब्रिटेनका प्रधानमन्त्री टोनी ब्लेयर क्याथोलिक कृश्चियन भएकै कारणले ३ महिनासम्म सपथ ग्रहण गर्न नपाएको इतिहास स्मरण गराउँदै पराजुलीले हिन्दू धर्म संस्कृति र देश विरुद्ध भईरहेका षडयन्त्रलाई बुझेर अब हामी सबैले देशको बारेमा गम्भीर भएर सोच्ने बेला आएको बताए ।

प्रत्येक स्वयंसेवकले जस्तै आफ्नो स्वधर्म, स्व–संस्कृती, राष्ट्र, राष्ट्रियताको संरक्षण सम्वद्र्धनका लागि निरन्तर प्रयत्नशिल रहनु पर्ने आवश्यकता औंल्याउँद भने ‘यदि हामी अहिले सजग भएनौं भने हाम्रा आउने वाला सन्ततिले स्वतन्त्र भएर बाच्न पाउने अधिकार गुमाउने निश्चित देखिन्छ ।’ सचेतताका साथ हिन्दू जागरण र संगठित शक्ति आवश्यक रहेकोमा जोड दिए ।

प्राचिन नेपालको अभिलेख अनुसार पनि ‘यो देश प्राचिन राष्ट्र हो, सनातन–धर्मावलम्बीहरूको राष्ट्र हो, हिन्दू राष्ट्र नेपाल हो,’ उनले भने । अब शिक्षा क्षेत्रमा पनि व्यापक सुधारको आवश्यकता रहेको समेत बताए । विगतमा विभिन्न प्रलोभनमा परि ‘यस राष्ट्रका शिक्षाविद्हरू’ले शिक्षा नीति नै दुषित पारिसकेका प्रति पराजुलीले गम्भिर हुन आग्रह गरे ।

प्रतिक्रिया