६ आश्विन २०८१, आइतबार | September 22, 2024

अस्थिरताको गोटी बन्न थाल्यो प्रदेश


249
Shares

काठमाडौं, २५ चैत्र । केन्द्रमा सत्ता गठबन्धन बन्ने र तोडिने खेल चलिरहँदा सिधा असर प्रदेशहरुमा पर्न थालेको छ । नेता कार्यकर्ता व्यवस्थापनमा सिमित बन्दै गएको प्रदेशमा सत्ताका विवादास्पद खेलहरु भइरहेका छन् ।

बागमती प्रदेशमा सरकार टिकाउन माओवादीले हाम्रो नेपाल पार्टीभित्र निकै खेल्यो । उक्त पार्टीको दुई सांसदमध्ये एकको साथ लिन मन्त्री दियो । तर, हाम्रो नेपाल पार्टीमा निकै विवाद चलिरहेको छ ।

सुदूरपश्चिमको सत्ताको खेलमा नागरिक उन्मुक्ति पार्टी फुटको संघारमा पुग्यो । श्रीमान श्रीमतीको झगडा उत्कर्षमा पुगेर धेरै मामला बाहिर आयो । उक्त पार्टीमा रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको विवाद सतहमै आएको छ ।

गण्डकी प्रदेशमा सत्ताको खेल चलिरहेको छ । खगराज अधिकारीले बहुमत दाबी पेश गरेपनि बाबुराम भट्टराई निकट फणिन्द्र देवकोटाले कस्लाई समर्थन गर्ने स्पष्ट छैन । देवकोटा माओवादीको चुनाव चिन्ह लिएर गोरखाबाट जितेका प्रदेशसभा सांसद हुन् ।

लुम्बिनीमा सत्ता परिवर्तन भइसकेको छ । कोशीमा पनि एमालेले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

प्रदेशहरुमा देखिएको राजनीतिक अस्थिरताको असरले जनतामा असन्तुष्टि बढ्न थालेको छ । मन्त्री र मुख्यमन्त्री फेरिइरहने प्रवृत्ति बढेको छ ।

केन्द्रमा देखिएको अस्थिरताको असर प्रदेशहरुमा प्रष्ट छ । यसले देशको राजनीतिलाई थप जटिल मोडमा लानसक्छ ।

प्रतिक्रिया