३१ भाद्र २०८१, सोमबार | September 17, 2024

हाम्रो देशको विकास कसो नहोला ? अख्तियार प्रमुखलाई मेरो प्रश्न..


February 11, 2024
131.6k
Shares

आकृति रायमाझी । माननिय प्रमुख आयुक्तज्यू, तपाईहरुले लामो प्रकृया र विवादका बिच गरिमामय पदमा नियुक्ति पाउनू भएको छ । संबैधानिक इजलासमा तलवार झुण्डे झै नियुक्तिको बिषयमा ३ बर्ष देखि मुद्दा समेत बिचाराधीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग भनेको राज्यको तीन अंग झै बलियो राज्यप्रसाशनको जिम्मा भएको चौथो अंग हो । निडर प्रमुख आयुक्त, नैतिकवान प्रसाशक र बलियो अख्तियारले यो देशको रोकिएको बिकासलाई गति दिने छ । माननीय प्रमुख आयुक्तज्यू, देशलाई भ्रष्टचार मुक्त बनाइ पीडित जनतालाई न्याय दिने जिम्मा तपाईको काँधमा छ, के तपाई यो जिम्मा लिन तयार हुनुहुन्छ ?

तपाईको कार्यकालमा सुरुवातबाटै भ्रष्टाचारका साना–ठुला, चर्चित र केही विवादित भ्रष्टाचारका मुद्दा चलाउनु भएको छ तर ती मुद्दाहरु अख्तियारले बिशेष अदालतमा किन हार्ने गरेको छ ?? कहिले बिचार पूर्याउनु भएको छ ?? राज्यको त्यत्रो श्रोत, साधन, जनशक्ति र लामो अनुसन्धान पछि दायर भएका यी मुद्दा किन अख्तियारले जित्न सकेको छैन् ?? मुद्दा दायर गर्दा कमजोरी भयो की ? अनुसन्धान गर्दा बिज्ञता पुगेन की ?? कृषिको बिज्ञले संचारको मुद्दा, प्रहरीले इन्जिनियरिङ मुद्दा अनि पर्यटन बिज्ञले भवन निर्माणको मुद्दा अनुसन्धान गरेर कसरी बलियो अनुसन्धान हुने ?? त्यसपछि बहस प्रभावकारी भएन कि ? अदालत भित्रका केही न्याय ब्यापारीका संजालमा ती भ्रष्टाचारको मुद्दा हरायो कि ? कहिले ध्यान दिनु भएको छ ? न्यायधीशलाई अख्तियारले अनुसन्धान गर्न मिल्दैन तर त्यहाँ कार्यरत कर्मचारीले गरेको भ्रष्टचार हेर्न आवश्यक छ । महान्यायधिवक्ता र महान्यायधिवक्ताको कार्यालय समेत अख्तियारको क्षेत्र बहिर छैनन् भन्ने देखाउनु आवश्यक छ ।
केही आयुक्तहरूले नै आफू निकट पार्टीका नेतालाई बचाउन हर प्रयास गरी रहेका छन, सौदाबाजी गरी रहेका छन् । तपाईको ध्यान पुगेको छ त ? ठुला मुद्दामा संलग्न भ्रष्ट नेतालाई बचाउन पार्टीले सहयोगी हैन् बिरोधी पठाएको हुन सक्ने बारे पनि चेतना होस् ।

धेरै भ्रष्टाचारका मुद्दा राजनैतिक खिचातानीको उपज हुने गरेका छन भने ४० बर्ष देखि उही ३–४ जना नेताहरुको चंगुलले अस्तब्यस्त हाम्रो मुलुकलाई यी स्वः घोसित राजनेताहरुले तङग्रिन दिने अवस्था छैन, न त काम गर्ने निडर नेतृत्वलाई सहज तरिकाले काम गर्न दिने छन । अख्तियारबाट पन्छिन की क्याबिनेटबाट निर्णय गराउछन कि अनुसन्धान गर्नेलाई सामदाम दण्ड भेदद्वारा तर्साउछन । अख्तियार प्रमुखको जÞिम्मेवारी सजिलो छैन,असहज,कठिन र चुनौतीपूर्ण छ तर जस्तै जटिल अवस्थामा पनि यी राजनेता, नेता यिनले पालेका बिचौलिया र वरीपरी बस्ने सालाभतीजालाई के अनुसन्धानको दायरामा ल्याउन सक्नु हुन्छ ?? २–३ जना पालैपालो खाने प्रधानमन्त्रीको कार्याकालमा भएका हाईप्रोफाइल हिनामीना जस्तै मेलम्ची खानेपानीको ठेक्का, टेलिकमको नियम बिरूद्द दिइएको लाईसेन्स,वाइडबडी चलखेल, बिद्युतिय गाडीको राजस्व फेरबदल, मन्त्रीज्यू शर्माको पालामा बजेट ल्याउने क्रममा भएको भ्रष्टाचार, ब्यापारीको ज्यानै जाने गरी हाइड्रोमा भएको हिनामीना, गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा, २०६३ को समायोजन र लड़ाकूको पैसा हिनमिना,सहकारी खोलर गरेको भ्रष्टाचार, गभर्नरको शैक्षिक योग्यताको छानबिन, सुन तस्करीमा अद्यागमन र गृहमन्त्रालयको संलग्नता र प्रहरीको बढ़ूवामा हूने चलखेल, नीजि बैंकमा नेताको लगानी हुने र सेटिंगमा नेपाली जनताको उठिबास हुने लगायतका सामाजिक आर्थिक र नीतिगत भ्रष्टाचारको मुद्दा अनुसन्धान गर्ने हौसला–हिम्मत छ तपाईसँग ??

माननीय प्रमुख आयुक्तज्यू यी नेताहरुले, कानून बनाउने मात्र हैन् आफैं त्यो कानूनको उल्लंघन समेत गरेका छन् । यसरी पटक–पटक नीतिगत भ्रष्टाचार हेर्दा, चुनावमा यी नेताहरुले पैसाको चलखेल गरेको देख्दा र यीनै नेताहरू, सभासदहरुले झूठा विवरण देखाई सरकारी भत्ता सुबिधा अनुचित हिसाबले खर्च गर्दा, के अख्तियारले देखेको छैन् ?? यसरी औषधी उपचार, भ्रमण, घरभाडा, मिटिंग भत्ता भनेर राज्यलाई महिनामै करोडौं आर्थिक नोक्सान पु¥याइरहेको कुरा अख्तियार दुरुपयोग वा भ्रष्टाचार हो कि होईन ? जनताले तिरेको करको पैसा भ्रष्टाचारमा मासिदा जनतालाई तपाईहरुले काम देखाएर चित्त बुझाउन सक्नु हुन्छ ? यी नेताहरूको लागि खर्च गरिएको बजेटले प्रत्येक गा.बि.स. को वडा–वडामा पक्की सडक पुग्न सक्थ्यो होला, मुलुकलाई आर्थिक भारबाट मुक्त गर्न सकिने थियो होला । आफ्नो परिवार पाल्नकै लागि पासपोर्ट बोकेर कहिलेसम्म युवाहरु अरब, यूरोप र अमेरिकातिर लखेटीनू पर्ने हो ? युवा जनशक्तिलाई देशमै रोजगारी उपलब्ध गराएर देश विकासमा लाग्ने वातावरण सिर्जना गर्न सकिएला ???

तपाइले सपथ खादाको हरेक शब्द र संविधानमा लेखिने प्रमुख आयुक्तको जिम्मेवारीको हरेक शब्द तपाइले हामी नेपाली जनतालाई दिएको बचन हो, के ती सबै बचन तपाईलाई याद छ ??? मुलुकलाई स्वच्छ बनाउने जिम्मा तपाईले लिनु भएको छ । स्मरण रहोस, प्रजातन्त्र, मानव अधिकार,संविधान, सु–शासन र विकासको लागि देशले यो गरिमामय पदको जिम्मा तपाईलाई दिएको छ । तपाईको कार्यकाल, आउने हरेक नेतृत्वको लागि उदाहरणको रुपमा लिन सकने गरी भ्रष्टाचार र भ्रष्ट नेता नै निर्मूल हुने कार्य गरेर देखाउनु हुने छ भन्ने आश छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सधै ठूलो माछा समात्ने भनेर समाचार आउने गर्दछ, कानूनको खिल्ली उडाउने र भ्रष्टाचार गर्ने ठूला नेता वाला माछाहरुलाई के साच्चै कै समात्न सकिएला ? यस्ता गम्भिर प्रश्न हरेक नेपाली को मनमा उठेको छ । तपाईको कार्यकालमा जवाफ आउला त ?? देशमा नेताद्वारा सृजित बेतिथिहरु कहिलेसम्म सहनु पर्ला ?? नैतिकवान र ईमान्दार भई देशबाट भ्रष्टाचार र यी भ्रष्टाचारी हटाउने नेतृत्व लिईदिनुस । हामी जनता तपाईको पछि ढाल बनि पछ्याउदै आउँने छौ ।

अन्त्यमा, देशमा बिद्यमान धेरै विकृति,विसंगति र भ्रष्टाचार तपाईले निडर भई नेतृत्व सम्हाले मा निर्मूल हुन सक्छ । देश विकासको लागी अरु केही गर्न पर्दैन, खाली सुशासन दिनुहोस्, भ्रष्टाचार निर्मूल गरीदिनु होस । माननियज्यू जनताले तिरेको कर जनताकै सेवा, सुविधा र देश विकासमा खर्च गर्ने अनुशासन सिकाईदिनुहोस,त्यतिबेला हाम्रो देशको विकास कसो नहोला ? भएन छ भने परेको म ब्योहोरौला ।

लेखक रायमाझी अधिवक्ता हुन् ।

प्रतिक्रिया