३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्डले पिएको ६१ अर्बको मेलम्ची पानी साह्रै बेइमानी


January 15, 2024
996
Shares

काठमाडौं, १ माघ । प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी पिएका छन् सिंहदरबारको सुनौलो धाराबाट । त्यो पानी त विगतमा पनि झारिएकै थियो तर फेरि बन्द भयो । यो समेत पाँचपटक मेलम्चीको पानी उद्घाटन भइसकेको छ ।

२०७७ को फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानीको उद्घाटन गरेका थए । २०७७ को चैत्रमा भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।

यो क्रम रोकिएन । मेलम्ची खानेपानीको २०७९ को मंसिरमा तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले उद्घाटन गरे । १ माघमा प्रचण्डको पालो आयो । उनी मेलम्ची खानेपानीको उद्घाटन गर्ने पाँचौ अधिकारी बने ।

अहिलेसम्म मेलम्ची आयोजनमा ६१ अर्बभन्दा बढी रकम खर्च भइसकेको छ । तर, पानी निरन्तर आउने नआउनेमा अझै अन्यौल छ ।

मेलम्चीको नाममा ठूला भ्रष्टाचारहरु भए । कतिपयलाई अख्तियार नै लाग्यो । मेलम्चीमा जिम्मेवारी पाएकाहरुले ठूलो धनराशी जम्मा गरे । खानेपानी मन्त्री बनेकाहरु व्यक्तिगत रुपमा समृद्ध बने । इञ्जिनियरहरुले ठूलो धन जम्मा गरे । तर, काठमाडौं काकाकुल नै रह्यो ।

मेलम्चीको मुख्य प्रवेशद्वारमा लेदो र ढुंगा जमेपछि सफा गर्ने भन्दै एक अर्ब खर्च भयो । यो खर्चमा पनि ठूलो भ्रष्टाचारको विषय उठ्यो ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालमा चुनावी भाषणका क्रममा मेलम्चीको पानी ल्याउने बताएका थिए । २०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन भयो । एशियाली विकास बैंकसँग ऋण सम्झौतापछि २०६४ सालमा निर्माण सुरु भयो । तर, १६ वर्ष पुग्दा पनि मेलम्ची पूरा भएको छैन । मेलम्चीका नाममा भ्रष्टाचार र जनता झुक्याउने राजनीतिक चलिरहेको छ । त्यो कहिलेसम्म । मेलम्चीको पानी साह्रै बेइमानी जस्तै भएको छ ।

प्रतिक्रिया