३ आश्विन २०८१, बिहिबार | September 19, 2024

चीनबाट महंगो परेपछि भारतबाट बिष्फोटक पद्धार्थ आयात, नेपाली निर्माण कम्पनीका लागि एनओसी


0
Shares

काठमाडौं, ११ साउन । भारतले नेपालको निर्माण क्षेत्रको प्रायोजनका लागि बिष्फोटक पद्धार्थ आयातमा नो अब्जेक्शन सर्टिफिकेट एनओसी दिएपछि आयात सुचारु हुन थालेको छ । यसै हप्ताबाट भारतबाट बिष्फोटक पद्धार्थ आयात हुन थालेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

भारतले नेपालमा बिष्फोटक पद्धार्थ दुरुपयोग हुनसक्ने आशंकामा आयात अनुमतिपत्र छ महिना देखि रोकेको थियो । उसको आशय चिनियाँ कम्पनीहरुका आयोजनामा पुग्नसक्नेतर्फ थियो । त्यसपछि नेपालमा बिष्फोटक पद्धार्थको अभाव हुन थालेपछि चीनबाट बिष्फोटक पद्धार्थ आयात सुरु गरेको थियो ।

भारतबाट बिष्फोटक पद्धार्थको कच्चा पद्धार्थ आयात सुचारु भएपछि नेपाली सेनाको इमल्सन प्लान्ट सञ्चालनमा पनि समस्या हुन छाडेको छ । सैनिक प्रवक्ता भण्डारीले इमल्सन प्लान्टलाई आवश्यक बिष्फोटक पद्धार्थको कच्चा पद्धार्थ पनि पर्याप्त हुन थालेको जानकारी दिए ।

भारतले नेपालका लागि बिष्फोटक पद्धार्थको नो अब्जेक्सन सर्टिफिकेट एनओसी नेपाली लगानीमा निर्माण भइरहेका आयोजनाका लागि मात्र दिएको छ । तर, चिनियाँ लगानी र चिनियाँ निर्माण कम्पनी सहभागी आयोजनाका लागि भने एनओसी दिएको छैन ।

सैनिक प्रवक्ता भण्डारीले एनओसी पाएका आयोजनाहरुका लागि बिष्फोटक पद्धार्थ आउन थालेको बताए ।

भारतीय लगानी र कम्पनी सहभागी निर्माण क्षेत्रका लागि भने एनओसी छ । जसका कारण उनीहरुका लागि बिष्फोटक पद्धार्थको समस्या छैन ।

नेपालमा चिनियाँ कम्पनीहरु निर्माण क्षेत्रमा हावी हुन थालेपछि भारतले कडा नीति लिन थालेको विषय नेपालमा उठिरहेको छ । काठमाडौं तराई द्रुत मार्ग फाष्ट ट्रयाक, कतिपय सुरुङमार्ग र जलविद्युत आयोजनाहरुमा चिनियाँ कम्पनीहरु संलग्न भइरहेका छन् । सिमेन्ट उद्योगमा पनि चीनको लगानी ठूलो छ । बिष्फोटक पद्धार्थ आवश्यक पर्ने यस्ता क्षेत्रमा भारतबाट अन्य क्षेत्रका लागि भनी आयात गरिएका बिष्फोटक पद्धार्थ पुगेको विषय भारतले उठाएको छ ।

नेपाल सरकारले निर्णय गरेर चीनबाट पनि बिष्फोटक पद्धार्थ आयातको अनुमति दिएको थियो । सयौं टन बिष्फोटक पद्धार्थ चीनबाट आयात भएपनि त्यो महङ्गो पर्न गएको छ ।

चीनबाट बिष्फोटक पद्धार्थ आयात गर्दा भारतको तुलनामा १०.५ प्रतिशत थप कर तिर्नुपर्छ । यसकारण चीनबाट आयात हुने विष्फोटक पद्धार्थ भारतबाट भन्दा महङ्गो पर्न जान्छ । अर्कोतर्फ, ढुवानी खर्च र सीमामा थप सुरक्षाशुल्क तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया