३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सुन तस्करी प्रकरणले संसदमा हंगामा, एमालेद्वारा छानबिन समिति गठनको माग गर्दै अवरोध


0
Shares

काठमाडौं, १० साउन । सुन तस्करी प्रकरणले संसदमा हंगामा भएको छ । विपक्षी नेकपा एमालेका सांसदहरुले सुन तस्करीमाथि उच्चस्तरीय छानबिन समिति गठन सम्म नगरेसम्म बैठक चल्न नदिने भन्दै अवरोध गरेका छन् ।

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको सेटिङ नभई सुन तस्करी हुन नसक्ने भन्दै छानबिन समिति गठनको माग गरे । उनले समिति गठन नभएसम्म सदन चल्न नदिने बताए । उनले सिधै प्रधानमन्त्री प्रचण्डको संलग्नता रहेको आरोप लगाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करी प्रकरणबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाका अध्यक्ष रवि लामिछानेले सुन तस्करीमा गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए कडा कदम चाल्न नदिने चेतावनी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल सुन तस्करीको ट्रान्जिट प्वाइन्ट बनिरहेको बताए । उनले सुन तस्करीका मुख्य नाइके पक्राउ गर्न सरकारसँग माग गरे ।

सत्तारुढ नेपाली काँग्रेसका सांसदहरु सुनिल शर्मा र रामहरि खतिवडाले पनि सुन तस्करका नाइकेलाई पक्राउ गर्न माग गरे । तस्करीको सत्य तथ्य उजागर गर्न समेत माग गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ साउनमा हङकङबाट ल्याइएको १०० केजी सुन भन्सार चेकप्वाइन्टबाट निकालेपछि ३ साउनमा बरादम भएको थियो । यो प्रकरणमा सरकारले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया