५ माघ २०८१, शनिबार | January 18, 2025

‘होली वाइन’ पिलाउने क्रिस्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा ओलीको हालीमुहाली


0
Shares

काठमाडौं, १० साउन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ‘होली वाइन’ नामले चिनिने क्रिष्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडरेशनको संरक्षकका रुपमा नेपालमा सक्रिय रहेको खुलेको छ । उक्त संस्थाका हर्ताकर्ता एकनाथ ढकाललाई एमालेमा प्रवेश गराएर ओलीले नै समानुपातिकतर्फको सांसद बनाए । अहिले उनै ढकालको आग्रहमा कम्बोडियामा पुगेर फेडरेशनको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाएका छन् ।

२१ देखि २४ जुलाई सम्म कम्बोडियामा इन्टरनेशनल लिडशिप कन्फरेन्सः पीस एण्ड डेमोक्रेशी विषयमा सम्मेलन आयोजना भएको थियो । जसमा विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु सहभागी थिए । ओलीको सचिवालयले कार्यक्रममा सहभागी भएको जनाएको छ ।

तर, नेपालमा युनिभर्सल पिस फेडेरेशन निकै विवादमा छ । उक्त संस्था नेपालमा क्रिश्चियन धर्म प्रचार र धर्म परिवर्तनमा सक्रिय रहेकाले विवादमा छ ।

सन् २०१८ को नोभेम्बरमा दक्षिण कोरिया मुख्यालय रहेको युनिभर्सल पिस फेडेरेशनले चार दिवसीय एशिया प्यासिफिक समिट आयोजना गरेर नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतलाई होली वाइन पिलाएको थियो । त्यतिबेला ओलीलाई सुशासनका लागि एक लाख डलर पुरस्कार पनि दिएको थियो ।

७५३ स्थानीय निकायका जनप्रतिनिधिलाई होली वाइन पिलाउन निम्तो गरिएको थियो । तर, अधिकांशले सहभागिता जनाएनन् ।

युनिभर्सल पिस फेडरेशन युनिफिकेशन चर्चको मातृ संस्था हो । नेपालमा फेडरेशनको सञ्चालन पूर्वमन्त्री एकनाथ ढकालले गर्छन् । ओलीले युनिभर्सल पिस फेडरेशनसँग सम्वद्ध व्यक्तिहरुको संरक्षण गर्दै आएका छन् ।

ओलीले कुनैबेला राम जन्मिएको अयोध्या नेपालको ठोरी नजिकै पर्ने तर्क गरेका थिए । उनले पूर्वीय दर्शनका विद्धानहरु धेरैजसो नेपालमै जन्मिएको बताउने गर्छन् ।

यतिसम्मकी उनी हिन्दू धर्मका गुरुले जसरी प्रवचन दिन्छन् । तर, उनै ओलीले युनिफिकेशन चर्चको मातृसंस्था युनिभर्सल पिस फेडरेशनको आयोजनामा होली वाइन पिएका थिए ।

प्रतिक्रिया