२३ भाद्र २०८१, आइतबार | September 8, 2024

मुस्लिम सांसदले उठाए राष्ट्रिय परिचयपत्र बनाउँदा हिन्दू नारीले सिन्दुर पुछ्नुपर्ने नियम हटाउन माग


0
Shares

काठमाडौं, १ असार । राष्ट्रिय परिचयपत्र बनाउँदा हिन्दू नारीले सिन्दुर टीका पुछ्नुपर्ने नियम छ । पुरुषले टोपी लगाउन पाइँदैन । यस्तो परिचयपत्र विना राहदानी समेत बनाउन दिइदैन । नियममाथि नियम कसिएको छ । तर, त्यसभित्र संस्कृतिमाथि आक्रमणको नियत लुकेको छ । त्यसको विरोध भएपनि सरकारले नियम कायमै राखेको छ ।

आज शुक्रवार संसदमा एकजना मुस्लिम सांसदले राष्ट्रिय परिचयपत्र बनाउँदा हिन्दू नारीले सिन्दुर र टीका पुछ्नुपर्ने नियमको विरोध गरेका छन् । जनमत पार्टीका सांसद अब्दुल खानले संस्कृति, रीतिरिजाव अनुसार लगाइएका श्रृंगार पुछ्नुपर्ने र टोपी लगाउन नपाइने प्रावधान हटाउन माग गरेका हुन् । उनले एकजना मुस्लिम महिला खेरुनिशा अन्सारीले राष्ट्रिय परिचयपत्र बनाउन अस्वीकार गरेको खुलाए ।

आफ्नो संस्कृति अनुसार महिलाले लगाएको सिन्दुर पुछ्नुपर्ने, दोपट्टा टाउकोबाट हटाउनुपर्ने, पुरुषले कन्ठी फुकाल्नुपर्ने र टीका पुछ्नुपर्ने नियमले राष्ट्रिय परिचयपत्र बनाउन नागरिकले बहिष्कार गरेका छन् । यस्तो वाध्यकारी नियम हटाउन सरकारको ध्यानाकर्षण गराउँछु, सांसद खानले भने ।

उनले संविधान विपरित जनताले अभ्यास गरिरहेको संस्कृतिमाथि प्रहार गरेर राष्ट्रिय परिचयपत्र बनाउन लगाइएको समेत बताए ।

नेपालमा ८१ प्रतिशत हिन्दू छन् । हिन्दू नारीहरुले सिन्दूर र टीका लगाउने परम्परा छ । राष्ट्रिय परिचयपत्र बनाउने नाममा यस्तो परम्परामाथि आक्रमण भइरहेको छ ।

प्रतिक्रिया