५ माघ २०८१, शनिबार | January 18, 2025

कामनपा–२९ का वडासदस्य श्रेष्ठले सरकारी जग्गा हडपेको खुलासा


0
Shares

काठमाडौं, २० जेठ। काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडा सदस्य अनिल श्रेष्ठले सरकारी जग्गा हडपेको पाइएको छ । उनले पदीय हैसियतको दुरुपयोग गर्दै सरकारी जग्गा हडपेका पाइएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ धोबीखोला करिडोरमा रहेको सरकारी जग्गाबाट वडा सदस्य श्रेष्ठले बाटो मात्र लगेका छैनन् सरकारी जग्गा घर कम्पाउण्डभित्र समेत हालेका छन् । स्थानीयका अनुसार उनको सेतो घरको भर्‍याङले समेत सरकारी जग्गा मिचेको छ । सरकारी लगानीमा बन्दै गरेको वीर गणेशमान सिंह जेष्ठ नागरिक भवनसँगैको सरकारी जग्गा वडा सदस्य श्रेष्ठले हडपेका हुन् ।

कानुन अनुसार सरकारी जग्गाबाट बाटो लान पाउँदैन । सार्वजनिक पदमा बसेकाले लानु त अख्तियारको दुरुपयोग र भ्रष्टाचार हो । यो विषयमा वडा सदस्य श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानबिन गर्नुपर्छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सरकारी जग्गा संरक्षणको अभियानमा लागेका छन् । उनकै वडा सदस्य श्रेष्ठले भने सरकारी जग्गा हडपेर बालेनको अभियानलाई चुनौती दिएका छन् ।

वडा सदस्य श्रेष्ठले सरकारी जग्गा हडपेको विषयमा महानगरपालिकाले छुट्टै छानबिन समिति बनाएर सत्य तथ्य पत्ता लगाउनु पर्छ । सरकारी जग्गा हडप्ने वडा सदस्यलाई कारबाही गर्न बालेनले अख्तियारलाई सिफारिस गर्नुपर्छ । मेयर बालेनसँग २९ नम्बर वडावासीले यहीँ अपेक्षा राखेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकाल र वडा सदस्य अनिल श्रेष्ठ सरकारी जग्गा सिध्याउने खेलमा लागेको पाइन्छ । यो विषयमा सम्बन्धित निकायले एक्सन लिनुपर्छ । रक्षक नै भक्षक भएपछि सरकारी जग्गा कसरी जोगिन्छ भनेर २९ नम्बर वडाबासीले चिन्ता प्रकट गरेका छन् । स्वास्थ्यलाइभ

प्रतिक्रिया