७ कार्तिक २०८१, बुधबार | October 23, 2024

ऐतिहासिक मौलिक सम्पदा मास्दै भ्यु टावर


0
Shares

काठमाडौं, ३ जेठ । प्राचीन तथा प्रसिद्ध सराङ्गकोट किल्ला कुलमण्डल खान (शाह) का जिजुको पालामा नै स्थापना गरिएको थियो । कास्की राज्य कास्कीकोट राजदरबार भएकोले थप सुरक्षाका लागी सराङ्गकोट किल्लामा भुमेकालिका शक्तिपिठ विकास भएको हो । सराङ्गकोटमा प्राचीन शैलीको वरपर घेरिएको शैन्य दुर्ग छ, दुर्गको बीचमा भुमेकालिका तथा भैरवको पूजा गरिने परम्परा निकै पुरानो छ । यो दुर्ग (कोट) ५०० वर्षभन्दा अगाडिको किल्ला हो, एकीकरणलाई आधार मान्दा लमजुङ गोर्खा भन्दा पनि अगाडिदेखी नै स्थापना भएको भुमेकालिका शक्तिपिठ र भैरव मन्दिर हुन् ।

पुरानो लगत किताब (१९९७) अनुसार १०० गज पर्खाल सराङ्कोट किल्ला परिसर भित्र भुमे कालिका मन्दिर थियो । भुमे कालिकाको मौलिक स्वरूप १५ गज ढुंगाको भुमेकालिका देवताको मन्दिर, सराङ्कोट पौवा लम्बाई १५ हात, ८ हात गज भएको १ तले पौवा थियो ।

ऐतिहासिवद डा राजाराम सुबेदि अनुसार सराङ्गकोटमा भित्रपट्टि ५ फुट गहिरो ३ फिट गोलो खाल्डो खोपी थियो । जहाँ भुमेदेवताको पूजा हुन्थ्यो । खोपाको माथिल्लो पाटामा यज्ञ गर्ने मण्डल बनाइएको हुन्थ्यो । यज्ञ कुण्डको माथि पर्खालमा चारकुने खोपी थियो । यो मन्दिर को मुल गर्भगृह भुमे कालिका खाल्डोमा भित्र राखेको देवतालाई पुजा गर्ने र पर्साद चढाउने । खाल्डोलाई ढुङ्गाको छपनी ढाक्ने चलन थियो । अहिले खाल्डो पुरानो स्वरूपमा छैन । यो मन्दिरको मौलिक स्वरूपमा पुर्न निर्माण गर्नु पर्छ ।

सराङ्गकोटमा २००७ सालभन्दा पहिले ८ फुट अग्लो २०० मिटर गोलो ३ हात चौडा पर्खालको घेरा थियो । त्यसभित्र २–४ फुटसम्म जमिन बाहिर देखिने गरी मोटा र टुप्पेका ढुंगा गाडिएका ५०–६० थान पुराना खुकुरी,तरबार र त्रिसुलहरु थिए । इशान्यकोणमा मोटा सालका मौला र घण्टहरु पनि झुण्डाइएका थिए, ज्यादै पुराना हुँदा कालान्तरमा नीला खिइदै गए । त्यहाँबाट हतियार र घण्ट पनि चोरिन थाले । दक्षिणबाट भित्र पस्न सकिने सराङकोट कुनै समयमा विशाल दुर्ग थियो । त्यो ढुंगे किल्लाको ढोका अगाडी मोटो मौलो थियो जहाँ धजा टाँगिन्थे । त्यो मौलामा भाकल पूजा गर्नेले बलि चढाउँथे । आजकाल युरोपिय पर्यटकले त्यहाँका अवशेषहरु एक–एक गरी चोरेको बताइन्छ । पर्यटकिय क्षेत्रले पर्यटकहरुबाट लाभको आशा गर्दा हानी पनि वेर्होर्ने पर्यो ।

पुराना बासिन्दाका अनुसार मन्दिर बाहिर रेखि हालि हवन गर्ने चलन थियो । मन्दिर परिसरको पूर्वतिर बनेको भ्यु टावरले भुमे कालिकाको मौलिक स्वरूप लाई असर परेको छ । सराङ्गकोटको भैरव पुुजारी विरबहादुर कुवँरका अनुसार चौबिसे राज्यका पालादेखि नै भैरवको पूजा गर्ने परम्परा छ । सराङ्गकोटको काला भैरव भन्जा र कास्कीकोटको काला भैरव मामा भन्ने किंवदन्ति पुर्वजबाट सुन्दै आएको कुरा जानकारी गराउनुभयो साथै प्रथम पूजा गर्दा सराङ्गकोटको भान्जा काला भैरवको पूजा गरेपछि कास्कीकोटको मामा काला भैरव पूजा गर्ने गरेको बताउनुभयो । राज्यको चासो मौलिक पहिचान बोकेका ऐतिहासिक सम्पदाहरुको संरक्षणमा हुनुपर्ने अत्यावश्क देखिएको छ ।.

प्रतिक्रिया