चिकित्सकहरुले अब परामर्श शुल्क ४२० देखि ९४० सम्म लिन पाउने
काठमाडौं, १९ वैशाख । चिकित्सकहरुको आगामी जेठदेखि लागुहुने गरी परामर्श शुल्क बढाइएको छ । अब अस्पतालको बहिरंग (ओपीडी) शुल्क वृद्धि गराइएको हो। आगामी जेठ १ गतेदेखि लागु हुनेगरी स्वास्थ्य मन्त्रालयसँगको सहमतिअनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले शुल्क वृद्धि गरेको हो ।
चिकित्सकहरुले आफ्नो अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउनेछन् । चिकित्सक संघ र अफिनद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख भएको नयाँ शुल्क अनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस चिकित्सकले ४२० र पाँच वर्षभन्दा माथिकाले ५१५ रुपैयाँ ओपीडी शुल्क लिन पाउने छन् ।
त्यसैगरी, एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका पाँच वर्षभन्दा कम अनुभव भएका चिकित्सकले ५९० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ६७० रुपैयाँ शुल्क लिन पाउने छन् । त्यस्तै, एमडी÷एमएस र एमडिएस चिकित्सकको हकमा पाँच वर्ष अनुभव नभएकाले ७५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८०० रुपैयाँ लिन पाउने छन् ।
डीमए तथा एमसीएच गरेका चिकित्सकको हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ८८० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ९४० रुपैयाँ लिन पाउने संयुक्त विज्ञप्तीमा उल्लेख छ । १० वर्षभन्दा बढी अनुभव भएका एमडी÷एमएस र एमडीएस डाक्टरले ९४० रुपैयाँ शुल्क लिन पाउने भएका छन् ।