३ आश्विन २०८१, बिहिबार | September 19, 2024

उपनिर्वाचनमा ‘हेभिवेट’ बीच भिडन्त हुँदै, ३ सांसदको लागि ६९ जना चुनावी मैदानमा


0
Shares

काठमाडौं, २१ चैत्र । रिक्त रहेका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दलहरूले सोमबार मनोनयन दर्ता गरेसँगै तनहुँ १, चितवन २ र बारा २ को उपनिर्वाचनमा दलहरूबीच ‘हेभिवेट’ बीच भिडन्त हुने भएको छ ।

तनहुँ–२ मा नेपाली कांग्रेसका पुराना नेता गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसन प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङ, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारलगायतले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेता भट्टराई वर्तमान आठ दलीय सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा प्रस्तुत हुनुभएको छ भने अन्य दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । संगठनको हिसाबले कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने भनिए पनि रास्वपाको तर्फबाट उम्मेदवार बनेका वाग्लेको प्रभावसमेत राम्रै पर्नसक्ने स्थानीयले बताएका छन् । गोविन्द भट्टराई कांग्रेसको राजनीतिमा खारिएका, ३० वर्षभन्दा बढी राजनीति गरेर पनि ठूलो जिम्मेवारी पाउनबाट वञ्चित र इमानदार नेता भएकाले तनहुँ कांग्रेसमा भट्टराईप्रति सबैको सहानुभूति रहेको स्थानीय नेताहरूले बताए । उता एमालेले पनि सांगठनिक संरचना निकै राम्रो रहेकाले आफ्ना उम्मेदवार सर्वेन्द्र खनालले जित्ने दाबी गरेको छ ।

रास्वपाले केही दिनअघि कांग्रेस छाडेका अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उठाएपछि तीन जनाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
त्यस्तै, चितवन २ मा नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र रास्वपाका सभापति रवि लामिछानेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चितवन २ मा १२ दलका र १२ जना स्वतन्त्र उम्मेदवार गरी २४ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताउनुभयोे । गत मंसिर ४ को निर्वाचनमा यस क्षेत्रबाट ४० हजारभन्दा बढी मतका साथ रवि लामिछाने विजयी हुनुभएको थियो ।

जीतनारायण श्रेष्ठले तीन दशकदेखि जिल्लामै बसेर निरन्तर राजनीति र समाजसेवामा सक्रिय रहेका नेताका रूपमा पहिचान बनाउनुभएको छ । एमालेका न्यौपाने पनि पुराना र लोकप्रिय नेता हुनुहुन्छ । स्वतन्त्रलगायत अन्य धेरै उम्मेदवार भए पनि यिनै तीन जनाबीच कडा प्रतिस्पर्धा हुने चितवनका नेताहरूको विश्लेषण छ । त्यहाँ पनि कांग्रेसका उम्मेदवार श्रेष्ठलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपालगायत सत्ता गठबन्धनका दलहरूले समर्थन गरेका छन् भने अन्य उम्मेदवारहरू एक्लै भिड्दैछन् ।

उता बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि जसपा, एमाले, जनमतसहितका दल तथा स्वतन्त्र व्यक्ति गरी १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजराज चौधरीका अनुसार जसपाको तर्फबाट उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल, जनमतबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेल र नेमकिपाबाट मुक्ति यादवसहित १७ जनाले मनोनयन दर्ता गराएका छन् ।

यीमध्ये जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादव, एमाले नेता पुरुषोत्तम पौडेल, जनमतका शिवचन्द्र कुशवाहा र रास्वपाबाट रमेश खरेलबीच बलियो प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । शिवचन्द्र कुशवाहा मंसिर ४ को निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेर सोही क्षेत्रबाट जनमत पार्टीका नेता सिके राउतसँग पराजित हुनुभएको थियो । उपेन्द्र यादव र रमेश खरेल पनि गत निर्वाचनमा सप्तरी र काठमाडौं १ बाट पराजित हुनुभएको थियो । यद्यपि, यादवलाई सत्ता गठबन्धनको समर्थन रहेकाले उहाँको सम्भावना बलियो रहेको बताइएको छ ।

कांग्रेसका सांसद रामचन्द्र पौडल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१, जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा–२ र नागरिकता विवादमा रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो ।

६९ जनाको उम्मेदवारी दर्ता

उम्मेदवारको मनोनयन दर्तासँगै यही वैशाख १० गते हुने उपनिर्वाचनको माहोल तातिँदै गएको छ ।

चितवन क्षेत्र नं २, तनहँु क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि सोमबार ६९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । त्यसमा राजनीतिक दलको तर्फबाट चितवन क्षेत्र नं २ मा २४ जना, तनहँु क्षेत्र नं १ मा ९ र बारा क्षेत्र नं २ मा ३६ जना र स्वतन्त्रबाट ३६ जना गरी जम्मा ६९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो ।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको विरोधमा उजुरी दिने आज मंगलबार तोकिएको छ । चैत २२ गते आयोगले मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

तनहँु क्षेत्र नं १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा क्षेत्र नं २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि आयोगले उपनिर्वाचनको मिति घोषणा गरेको थियो । नागरिकता विवादका कारण सर्वोच्च अदालतले रवि लामिछानेलाई पदमुक्त गरेसँगै चितवन क्षेत्र नं २ मा उपनिर्वाचनको घोषणा गरिएको थियो । समाचार पत्र

प्रतिक्रिया