३ आश्विन २०८१, बिहिबार | September 19, 2024

एमालेलाई ५ वर्ष सत्ताबाहिर राख्न खोजिएपछि ओलीमा छटपटी


1.6k
Shares

काठमाडौं, २० फागुन । नेकपा एमाले यस्तो दल हो जो २०५१ सालयता दुईवर्षभन्दा बढी सत्ताबाहिर बसेको छैन । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकार चलाएको एमालेले त्यसपछि माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीको नेतृत्वमा सरकार सञ्चालन गरेको इतिहास छ । ओली त दुईपटक प्रधानमन्त्री भए ।

मनमोहन अधिकारीको सरकार २०५२ मा ढलेपछि केही समय मात्र एमाले सत्ताबाट बाहिर पुग्यो । उसले त्यसपछि सत्तामा रहेर कर्मचारीतन्त्रमा बलियो पकड बनायो । एमाले सत्तामा रहिरने दल भएर पनि स्थायी सरकार मानिने कर्मचारीहरु एमालेप्रति आकर्षित भए ।

२०६३ सालपछि त एमाले एक वर्षभन्दा बढी सरकार बाहिर रहेको रेकर्ड नै छैन । चारपटक तीनजना एमालेका प्रधानमन्त्रीले सरकार चलाए । विगत १७ वर्षमा एमालेले ७ वर्ष र बाँकी काँग्रेस र माओवादीले सरकार चलायो । ७ वर्ष सरकार चलाउँदा एमालेले कर्मचारी प्रशासन देखि न्याय क्षेत्र र सुरक्षा निकायमा आफ्नो बलियो प्रभाव बनाएको छ । तर, अबको पाँच वर्ष सत्ताबाहिर रहनुपर्ने एमालेको प्रभावमा ठूलो झड्का पर्न सक्छ ।

सत्ता गठबन्धनमा अबको १० महिनापछि माधव नेपाल र त्यसपछिको दुई वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भद्र सहमति छ । तर, प्रचण्ड र देउवाबीच खटपट ल्याएर गठबन्धन तोड्ने दाउमा छन् ओली ।

प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री दिने देखि देउवालाई पनि त्यही प्रस्ताव राख्ने रणनीति ओलीले चालिरहेका छन् । तर, दुवैका लागि गठबन्धन वाध्यात्मक बनेको छ । यसकारण हत्तपत्त गठबन्धन तोडिने देखिदैन ।

गठबन्धन नतोडिए अर्को चुनावसम्म शक्तिमा ठूलै नोक्शानी परिसक्ने बुझाई ओलीको छ । एमालेको मुख्य शक्ति मानिएको कर्मचारीतन्त्रमा प्रभाव घटिसक्छ । सरकार एमालेको नरहँदा कर्मचारीहरु पनि नयाँ अवसरको खोजीमा अन्यत्र पुग्ने अवस्था रहन्छ ।

ओली प्रचण्डलाई फकाउन उनीनिकट नेताहरुसँग गोप्य भेटवार्ता गर्दै आएका छन् । विशेषगरी वर्षमान पुनसँग ओलीनिकटस्थहरुको भेटघाट बाक्लिएको छ । पुन गठबन्धन तोड्ने प्रयासमा लागेका छन् । ओलीले माओवादीभित्रको असन्तुष्ट समूहलाई पनि साथमा लिएर प्रचण्डलाई वाध्य पार्न खोजेका छन् । उनमा निकै छटपटी देखिएको छ । त्यसैले रेणु दाहालको प्रशंशा गर्न थालेका छन् अहिले ।

प्रतिक्रिया