८ मंसिर २०८१, शनिबार | November 23, 2024

नानीमैयाँ दाहालले जोगाइदिएको हरिसिद्धिका किसानको डेढ सय रोपनी जग्गा (भिडियो रिपोर्टसहित)


February 9, 2024
5.6k
Shares
1.Studio portrait post 2038 BS

नेपाली पेन, २६ माघ । नानीमैयाँ दाहाल । नेपाली राजनीतिमा उनलाई कसैले पनि गम्भीर रुपमा लिदैनन् । धेरैका लागि उनी उत्शृंखल महिला । हक्की स्वभावकी नानीमैयाँ बोल्न डराउँदिनन् । उनी कहिलेकार्ही यतिसम्म बोल्छिन् कि नजिक रहेकाहरु भाग्न वाध्य हुन्छन् । तर, उनी जायज कुरा बोलेर ढोंगीहरुलाई चुनौती दिन्छिन् । त्यसैले किशोरावस्थामा बलात्कारविरुद्ध बोल्दै पीडितलाई सहयोग गरेर राजनीतिमा उदाइन् ।

नानीमैयाँ निडर स्वभावकी थिइन् बाल्यकाल देखि नै । त्यतिबेला महिला भनेपछि लजालु हुनुपर्छ भन्ने मान्यता समाजमा स्थापित थियो । त्यसलाई उनले ठाडै चुनौती दिइन् । उनको यही स्वभावले २९ वर्षमै तत्कालीन जोरपाटी पञ्चायतको उपप्रधानमञ्च बनायो ।

२०३८ मा नानीमैयाँले राष्ट्रिय पञ्चायतमा सानदार जीत हासिल गरिन् । उनले त्यतिबेलाका नामी पञ्च कमल चित्रकारलाई भारी मतान्तरले जितिन् । स्वतन्त्र उम्मेदवारका रुपमा उनको मत थियो ६५ हजार ७७७ ।

४ वर्ष राष्ट्रिय पञ्चायतको सदस्यको रुपमा उनले महत्वपूर्ण भूमिकाहरु निभाइन् । शोषितपीडित, महिला, किसान, मजदूरको पक्षमा काम गरिन् । कसैलाई अन्याय भयो कि बोलिहाल्थिन् । कर्मचारीलाई त काम गर्न वाध्य पार्थिन् ।

नानीमैयाँ त्यतिबेला मात्र लाई नकारात्मक बिम्ब बनाउनेहरुले नथाहापाएको एउटा तथ्यः उनको कारणले हरिसिद्धिमा ईट्टा टायल कारखाना चलाउन जग्गा अधिकरण गर्दा डेढ सय रोपनी किसानलाई नै फिर्ता पुग्यो । कानूनको छिद्रमा खेलका धेरै पढेका र जानेकाले अधिकरण गरिएको त्यस्ता धेरै जग्गा हडपिसके । नानीमैयाँले भने किसानको जग्गा जोगाइदिइन् । उनी भूइँमान्छेको हकहितका लागि बोल्दै हिंडिन् ।

२०३८ सालमा नानीमैयाँ दाहाललाई जिताएकोमा काठमाडौंका जनताले गर्व गरे हुन्छ । उनले धेरै सार्वजनिक जग्गा जोगाउन भूमिका खेलिन् । किसानको बढी जग्गा अधिकरणबाट बचाइन् अधिकरण गरिएका जग्गा अहिले भूमाफियाले धमाधम कब्जा गरे । विगतमा काठमाडौंले जिताएका नेता माधव नेपाल बालुवाटार जग्गा प्रकरणमा मुछिए । गोरखाबाट चुनाव जितेका डा. बाबुराम भट्टराई पनि यही प्रकरणमा मुछिए । गिरिजाप्रसाद कोइरालामाथि सरकारी संस्था बेचेर जग्गा समेत व्यक्तिको हातमा पारेको धब्बा लागेको छ । नेताहरु आफ्नो सन्तानलाई भूमि बढाउनमै लागिरहेका छन् त्यस्ता माफियाको इशारामा चलेर । तर, नानीमैयाँ सधै सार्वजनिक र सरकारी जग्गा हडप्नेविरुद्ध उभिइन् ।

हरिसिद्धिको जग्गा अधिग्रहणको इतिहास
सरकारले २०२१ फागुन २५ मा जग्गा प्राप्ती ऐन २०१८ अनुसार हरिसिद्धिको जग्गा अधिग्रहण गरेको थियो । यो जग्गा चीन सरकारको सहयोगमा हरिसिद्धि इँटा तथा टायल कारखाना खोल्न अधिग्रहण गरिएको थियो ।

सुरुमा सात सय रोपनी अधिग्रहण गर्ने भनिएकोमा अन्तिममा पाँच सय ७० रोपनीमात्र अधिग्रहण गरियो । त्यति बेला किसानलाई क्षतिपूर्तिबापत प्रतिरोपनी १५ सय रुपैयाँ दिइएको थियो ।

अधिग्रहण गरिएको जग्गा कारखाना सञ्चालनलाई बढी भएको भन्दै तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको तत्परतामा अभियान थालियो । त्यसपछि डेढ सय रोपनी जग्गा किसानलाई नै फिर्ता गरियो ।

नानीमैयाँले त किसानलाई जग्गा फिर्ता दिलाइन् तर गिरिजाप्रसाद कोइराला देखि महेश आचार्य सम्मले हरिसिद्धिको जग्गामात्र होइन सिंगो कारखाना कौडीको भाउमा बेचिदिए । त्यो पनि विवादास्पद व्यापारी जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठको कम्पनीलाई । हरिसिद्धिको जग्गा समेत बेच्नु अवैधानिक थियो ।

नाफामा रहेको कारखाना घाटामा देखाउँदै निजीकरणका नाममा २०४९ फागुन १३ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गराई भोलिपल्टै खरिद सम्झौता भएको थियो । खरिदकर्ता एनबी ग्रुपका जीतबहादुर र लक्ष्मीबहादुरले कारखाना अन्य व्यक्तिलाई ठेक्कामा चलाउन दिए । उनीहरुले योजनावद्ध तरिकाले जग्गा विक्री गर्दै सिध्याइरहे सिध्याइहे ।

भ्रष्ट नेता, कर्मचारी देखि न्यायधीशलाई समेत खरिद गरेर लक्ष्मीबहादुरले जग्गा बेचिरहे । यसरी कमाएको धन उनले विदेशमा जम्मा गरेको तथ्य आइसकेको छ । त्यो सम्पत्ति पत्नी बिनु श्रेष्ठको नाममा राखेको तथ्य उजागर भएको छ ।

नानीमैयाँले अधिकरण हुनबाट डेढ सय रोपनी नजोगाइदिएको भए त्यो पनि लक्ष्मीबहादुरले बेचिसकेका हुन्थे । जग्गा अधिकरणसम्बन्धी ऐनले जुन प्रायोजनका लागि अधिकरण गरिएको हो त्योबाहेक गर्न नमिल्ने भनेको छ । तर, हरिसिद्धिको जग्गा प्रायोजन विपरितका कार्यमा विक्री गर्दै सक्न लागिएको छ । यसमा बैंकिङ माफिया देखि भूमाफियासम्म लागेका छन् ।

जग्गा जोगाउने नानीमैयाँहरुलाई हाँसोको पात्र बनाएर जग्गा हडप्ने माफियाहरु प्रतिष्ठितको नक्कली खोल ओढेर हिंडिरहेका छन् । तर, चाँडै त्यो खोल उघ्रन थालेको छ ।

प्रतिक्रिया