६ आश्विन २०८१, आइतबार | September 23, 2024

महानगरीय प्रहरी प्रभाग काँडाघारीको दरबन्दीको व्यवस्थापनमा किन बिलम्ब ?


January 3, 2024
16.1k
Shares

काठमाडौँ,१८ पुस । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ७ मा रहेको महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति अझै हुन सकेको छैन् । स्तरोन्नति हुँन नसक्दा शान्ति सुरक्षामा समस्या भएको स्थानीयवासी एवं समाजसेवी प्रकाशगम्भिरसिंह रायमाझीले बताए ।

स्थानीयवासीले माग गरेअनुसार गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई स्तरोन्नतिको आवश्यक व्यवस्था गर्न २०७८ चैत्रमा पत्राचार गरेको थियो । तर, अझै पनि काम अघि नबढेको स्थानीयहरुको गुनासो छ ।

रायमाझीले सो स्थानमा अहोरात्र खटिएर अपराध नियन्त्रणदेखि सामान्य घटनासम्म महत्वपूर्ण भूमिका खेलेको प्रहरी संगठनले साधनस्रोतको अभावले निकै कठिनाइ भोग्दै आउनुपरेको सुनाउँछन् । समस्याको बाबजुद पनि कर्तव्य पुरा गरिरहेको तथ्यलाई सम्मान गर्नुपर्ने उनको तर्क छ ।

राजनीतिक विश्लेषक समेत रहेका रायमाझीले चुनौतीपूर्ण परिस्थितिले गर्दा काठमाडौँको पूर्वी भेगतर्फ कागेश्वरीमनोहरा नगरपालिकामा स्थापित प्रहरी चौकीलाई स्तरोन्नति गर्न अपरिहार्य भइसकेको बताउँछन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले लेखेका छन्,“यस्तै चुनौतीपूर्ण परिस्थितिले गर्दा काठमाडौँको पूर्वी भेगतर्फ कागेश्वरीमनोहरा नगरपालिकामा स्थापित प्रहरी चौकीलाई स्तरोन्नति गर्न अपरिहार्य भइसकेको छ ।”

सो सम्बन्धमा निर्णय भएको यति लामो समयसम्म पनि दरबन्दीको व्यवस्थापनमा विलम्ब भएको भन्दै उनले आपक्ति जनाएका छन् । “अझै पनि गृह प्रशासकको मुख ताक्नु उपयुक्त हो र ?”–उनले लेखेका छन् । रायमाझीले प्रहरी महानिरीक्षकले तत्काल सो कार्यलाई कार्यान्वयन गर्ने पनि विश्वास लिएको उल्लेख गरेका छन् ।

नगरपालिका भित्रको १ लाख ३३ हजार जनसङ्ख्यामध्ये आधा जनसङ्ख्या ओगटेको वडा नं ७, ८ र ९ को शान्ति सुरक्षा हेर्ने प्रभागमा जनशक्ति कम हुँदा शान्ति सुरक्षामा प्रभाव परेको भन्दै तत्कालिन नगरप्रमुख कृष्णहरि थापाले गृहमन्त्रालयलाई पत्र लेखेर स्तरोन्नतिको आवश्यक व्यवस्था गर्न माग गरेका थिए ।

सोही अनुसार मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई प्रभाग स्तरोन्नतिको आवश्यक व्यवस्था गर्न पत्राचार पनि गरेको थियो ।

घना र अव्यवस्थित बस्ती भएकाले सीमित जनशक्तिले गस्तीसमेत गर्न नसक्दा शान्ति सुरक्षामा समस्या भएको स्थानीयवासीले बताए । सो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गराउने उद्देश्यले प्रहरी प्रभाग स्थापना भएको थियो । सो स्थलमा प्राचीन सम्पदाका रूपमा नागेश्वर मन्दिरको स्थापना भएपछि त्यसको सुरक्षाका लागि पुरातत्व विभागको समेत समन्वयमा प्रहरी प्रभाग स्थापना भएको हो । मन्दिरमा सोमबार, शनिबार एवं विभिन्न पर्वका अवसरमा भक्तजनको भीड लाग्ने गर्छ ।

 

प्रतिक्रिया