३ आश्विन २०८१, बिहिबार | September 20, 2024

दिल्लीमा १९ घण्टापछि फेरि भूकम्प


0
Shares

एजेन्सी, ८ चैत्र । नयाँ दिल्लीमा १९ घण्टापछि बुधबार फेरि भूकम्पको धक्का महसुस गरिएको छ । रेक्टर स्केलमा यसको तीव्रता २.७ मापन गरिएको थियो । साँझ ५ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । यसअघि मंगलबार राति १० बजेर २० मिनेटमा भारत, पाकिस्तान र अफगानिस्तानमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो । यसको तीव्रता रेक्टर स्केलमा ६.६ मापन गरिएको थियो ।

भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको फैजाबादबाट १३३ किलोमिटर दक्षिणपूर्वमा जमिनबाट १५६ किलोमिटर गहिराइमा रहेको थियो । पाकिस्तानमा ९ जनाको मृत्यु भएको छ । एकै समयमा, २०२ जना घाइते भएका छन्। अफगानिस्तानमा पनि दुई जनाको ज्यान गएको छ ।

भारतमा यसको प्रभाव दिल्ली, राजस्थान, पञ्जाब, मध्य प्रदेश, उत्तर प्रदेश र जम्मू कश्मीरमा देखिएको छ । यसले जनतामा त्रास पैदा गरेको छ । मानिसहरु आत्तिएर आफ्नो ज्यान जोगाउन घरबाहिर निस्केका थिए । दिल्ली–एनसीआर, गाजियाबादका धेरै क्षेत्रमा मानिसहरूले रातभर घरबाहिर बिताए।

’जियो न्यूज’का अनुसार पाकिस्तानको मौसम विज्ञान विभाग (पीएमडी) ले भूकम्पको म्याग्निच्युड ६.८ रहेको जनाएको छ । इस्लामाबाद, लाहोर, क्वेटा, रावलपिंडी, पेशावरलगायत धेरै सहरमा भूकम्पको धक्का महसुस गरिएको थियो । पीएमडीका अनुसार भूकम्प पाकिस्तानी समय अनुसार राति ९ः४७ मा गएको हो । त्यसको एक घण्टापछि ३.७ म्याग्निच्युडको परकम्प गएको थियो । यसको केन्द्र अफगानिस्तानमा पनि थियो। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) लाई आपतकालिन अवस्थामा तयार रहन निर्देशन दिएका छन्।

 

प्रतिक्रिया