७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

भारतको सहयोगमा निर्माण गरिएको विष्णुदेवी माविको भवन उद्घाटन


August 15, 2023
0
Shares

काठमाडौं, ३० साउन । भारतको सहयोगमा निर्माण गरिएको चन्द्रागिरिस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको भवन आज उद्घाटन गरिएको छ । भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा विद्यालयको नवनिर्मित विद्यालय भवनको आज भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष घनश्याम लुईटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक डिल्लीराम लुईटेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग र केन्द्रीय भवन अनुसन्धान संस्थान रुड्कीका प्रतिनिधि लगायत अन्यको उपस्थिति रहेको थियो ।

नेपाल सरकारको भूकम्प उत्थानशील पुनर्निर्माण मापदण्ड अनुरुप करिब ७ करोड लागतमा विद्यालय भवनको निर्माण गरिएको हो । नवनिर्मित भवनमा दुइवटा ब्लक रहेका छन् जसमा १३ वटा कक्षाकोठा, प्रशासनिक कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रयोगशाला आदि छन् ।

भवन बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गमैत्री भूकम्प प्रतिरोधी संरचनाले ५०० जना भन्दा बढी विद्यार्थीलाई लाभान्वित तुल्याउनुका साथै प्रभावकारी सिकाइ वातावरण प्रदान गर्नेछ ।

नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान रकम ५ करोड अमेरिकी डलर अन्तर्गत नेपालका आठ जिल्लामा निर्माण भइरहेका ७१ शैक्षिक संस्थामध्येकै एक भएको भारतीय राजदूतावासले जनाएको छ । यी ७१ शैक्षिक संस्थामध्ये ६५ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ६ वटा पनि छिट्टै सम्पन्न हुने जनाइएको छ ।

प्रतिक्रिया