८ मंसिर २०८१, शनिबार | November 23, 2024

भरोसा अस्पताल नजिकैको अनधिकृत संरचनामा बालेनको चासो


0
Shares

काठमाडौं,७ साउन । भरोसा अस्पताल नजिकैको अनधिकृत संरचनामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले चासो देखाएका छन् । भरोसा अस्पताल नजिकै २० करोडको सरकारी जग्गा अतिक्रमण गरेर अनधिकृत संरचना बनाएको तथ्य स्वास्थ्य लाइभले सार्वजनिक गरेपछि मेयर बालेनले चासो देखाएका हुन् ।

मेयर बालेनको निर्देशनमा काठमाडौं महानगरपालिकाको प्राविधिक टोलीले यसै हप्ताभित्र नयाँ बानेश्वर क्षेत्रको उक्त अनधिकृत संरचनाको स्थलगत निरीक्षण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागका सहायक निर्देशक देविकुमार तिमिल्सिनाका अनुसार महानगरपालिकाको प्राविधिक टोलीलाई उक्त क्षेत्रको यसै हप्ताभित्र निरीक्षण गर्न निर्देशन दिएको छ । स्वास्थ्य लाइभमा समाचार प्रकाशित भएपछि काठमाडौं महानगरपालिका तातेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ पुरानो ह्वाट हाउस कलेजसँगै आधा रोपनी बढी सरकारी जग्गा अतिक्रण गरी अनधिकृत संरचना बनाएर मासिक झन्डै ५ लाख भाडा उठाउने काम भइरहेको छ । न लालपूर्जा, न त काठमाडौं महानगरपालिकाबाट नक्सा पास स्वीकृति, न राज्यलाई कुनै कर तिरेको छ । यस्तो अवैध तरिकाले पैसा उठाउने व्यक्ति जनार्दन र सुदर्शन आचार्य रहेको स्थानीयहरू सुनाउँछन् ।

स्थानीय बलभद्र टोल विकास समितिले काठमाडौं महानगरपालिकाका आचार्य दाजुभाईविरूद्ध मुद्दा हालेका छन् । उनीहरूले ६ वटा सटर बनाइ भाडा खाइरहेको स्थानीयको आरोप छ ।

समितिका तर्फबाट सरिता पौडेल, बाबुराम कार्की, केशवराज पौडेल, भूपेन्द्र कार्की, त्रिभुवन पौडेल, प्रभु बाँस्तोला र अच्युतप्रसाद अधिकारीले अतिक्रमित सार्वजनिक जग्गा संरक्षणका लागि काठमाडौं महानगरपालिकामा उजुरी दर्ता गराएका हुन् । त्यस्तै रामप्रसाद उप्रेती, ऋषिराम कटवाल, जनकराज श्रेष्ठ, भुवनेश्वर गौतम, विष्णु खनाल, कल्पना थापालगायत दर्जन बढीले उक्त उजुरीमा हस्ताक्षर गरेका छन् ।

नयाँ बानेश्वर बलभद्र टोल विकास समिति र स्थानीयहरू आचार्य परिवारले अतिक्रमण गरेको सरकारीरसार्वजनिक जग्गा संरक्षण गर्न एकजुट भएर लागेका छन् । उनीहरूको अभियानलाई स्वास्थ्य लाइभको साथ रहेको छ । वडा कार्यालयले सकारात्मक भूमिका नखेले पनि काठमाडौं महानगरपालिकाले उक्त अनधिकृत संरचना भत्काउन प्रक्रिया अघि बढाएको देखिन्छ । स्वास्थ्यलाइभ

प्रतिक्रिया