३ आश्विन २०८१, बिहिबार | September 19, 2024

मेयर हर्क स्वधर्ममै फर्क


0
Shares
श्याम खनाल: श्रीमान् मेयर हर्कजी, नमस्कार भनौँ या जदौ भनौँ जे भने पनि धेरै पटक नमस्कार छ । देश रोइरहेको बेलामा, कोशी रोइरहेको बेलामा, धरान रोइरहेको बेलामा आराम त कसरी भनौँ र तर पनि औपचारिकताका लागि ठिकै नै छौँ भन्नुपर्यो र तपाइँको सुखी जीवनका लागि मङ्गलमय कामना पनि गरेका छौँ । अहिले तपाइँको चर्चा सामाजिक सञ्जालमा अत्यन्तै धेरै भइरहेको रहेछ । त्यसैले यस्ता भड्काउने कुराहरू के तपाइँका होलान् र भनी धेरैपटक हेरियो । पत्यारै लागेन । अनि कतैबाट एउटा भिडियो सुनेको तपाइँलाई पनि विनासकाले विपरीतबुद्धि भन्ने शास्त्रको कुरा लागू भएछत है भनी यसरी केही लेख्न थालियो । सुने सुन्नुहोला र विचार गर्नुहोला । नभए अर्को कानबाट उडाइदिनुहोला । पतनको मार्ग रोज्नुहोला ।
झुक्क्याउन कसैलाई हुँदैनथ्यो । तपाइँको धर्म संस्कार र उद्देश्यका बारेमा पहिले नै जनता सुसुचित भएका भए सायद तपाइँ हर्क साङ्‌पाङ् मेयर हुनुहुन्थ्यो या तपाइँकै आस्थाको चर्चमा नै एअर खाएर बस्नुहुन्थ्यो त्यो तपाइँलाई मात्र थाहा छ । तपाइँ आफूलाई भगवान् शिवको आराधना गर्ने किराँत भनेर जनतालाई चिनाउनुभयो । कहिले प्रकृतिपूजक भनेर पनि भ्रम छर्नुभयो । तर तपाइँको असली रुप अर्कै रहेछ । नेपालको सनातन धर्मको विरुद्ध गरेको षडयन्त्रपछि तपाइँको पोल खुलिहाल्यो र तपाइँले पोष्ट गरेका पुराना कुराहरू पनि बाहिर आए ।
तपाइँले ठिक छ सबै धर्मको सम्मान गर्दछु भन्नुहोला । तर त्यसो रहेन । किनकि तपाइँले २०१५ सेप्टेम्बर १८ मा “किरातीका छोरी चेलीहरूलाई भाटा पुगेको छैन तीजमा रातो सारीमा सजिएर नाच्छन् स्वतन्त्रता धेरै भएर बाहुन मधेसी जस्ता कुजातीसँग बिहे गर्छन् अनि हामीले मात्रै पहिचान बचाएर बच्छ ? भाटै भाटा लगाऊ है साथी छाडा छोरी चेलीले हाम्रो पहिचान मेट्न लाग्या छन् ।” यस किसिमको अत्यन्तै आपत्तिजनक भाषा सहित भड्काउ पोष्ट गर्नुभएको रहेछ । अझ त्यतिले मात्र कहाँ पुगेछ र तपाइँले लक्ष्मी पूजाका समयमा “परम्परालाई सम्मान त गर्नै पर्दछ तर लक्ष्मीको पूजा गरेर होइन श्रम गरेर पसिना बगाएर चाहिँ धनमान प्राप्त हुन्छ” भनेर कसैको आस्थामाथि नै गिद्धेनजर लगाउनुभएछ । तर क्रिसमसका समयमा फेरि तपाइँलाई जिससको याद आएर उहाँप्रति राम्रै भजन गाउनुभएछ ।
यदि तपाइँ नास्तिक विचारबाट प्रभावित भएर जुनसुकै पनि धर्मावलम्बीका चाडका दिन विषवमन गर्नुभएको भए हामीलाई केही भन्नु थिएन । त्यो तपाइँको स्वतन्त्रताको विषय हुन्थ्यो । तर तपाइँलाई उही पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई जस्तै हिन्दू चाडका दिन विषवमन गरेर क्रि्श्चियन र मुस्लिमका पर्वहरूमा चाहिँ अग्रगमन भएको देख्नपर्ने र लेख्नपर्ने हुने रहेछ । अनि फेरि भोटको लागि किरातको नाटक पनि गर्नुहुँदो रहेछ । यो कुरो त पहिले नेपाली जनतालाई थाहै दिनुभएन । थाहा दिनुपर्थ्यो । म यो धर्मावलम्बी भनेर चिनिनु पर्थ्यो । अहिले एक्कासी एउटा ऐतिहासिक मन्दिरको नजिक चर्च निर्माण गराएको कुराबाट पो यी कुरा बाहिर आए । हामीलाई त यी छापामा आएका कुराले खासै छोएको पनि थिएन । किनकि हर्क काम गर्ने व्यक्ति भएकाले कसैले खुट्टा तानेहोलान् भन्ने नै लागेको थियो । तर तपाइँको आजै मात्र पोष्ट भएको “धेरै मेरो खुट्टा नतान तिमेर्को धोती सम्हाल ! नाङ्गा बाबा हो” भन्ने पोष्ट र यहाँ चर्चमा तपाइँ बोलेको पुरानो भिडियोले तपाइँ इसाइ धर्ममा रहेको प्रमाणित भएरै छाड्यो ।
हर्कजी के गर्ने भारतमा इसाइ आउँदा पनि यस्तै तपाइँले गरे जस्ता केही विकासका काम लिएरै आएका थिए । पहिले समृद्ध नै रहेका तर मुसलमान र अङ्ग्रेजको शासनकालबाट गरीब बनाइएका हिन्दूहरूले पत्याएर उनका पछि लागे । तर हेर्नु्होस् त उनीहरू सुखी छन् त पक्कै छैनन् । भारतका विभिन्न राज्यमा उनीहरूलाई प्रयोग गरेर अब धार्मिक युद्ध गराइँदैछ । मणिपुर पछिल्लो उदाहरण हो । तपाइँ र तपाइँलाई नचिन्ने केहीलाई तपाइँले विकास गरेको देख्लान् तर देशको सनातन धर्म, संस्कार र संस्कृति रहित त्यो देखावटी विकास तुरुन्तातुरुन्तै विनासको बाटोमा जाने नै छ । नेपाली जनता र धराने जनतालाई नझुक्क्याउनोस् । विकासका नाममा विधर्मीहरूको देश टुक्राउने योजनालाई मलजल नगर्नोस् ।
आफ्नो बाबु बाजेले मानिआएको सनातन हिन्दू किरात धर्म जसलाई तपाइँहरूले नै यो धर्म त हिन्दुको नजिक रहेछ भनेर जनतालाई किरात भन्न सिकाउनुभयो । जब उनीहरू किरातमा विभाजित भए, अनि फेरि मुक्तिदाता त येशु रहेछन् भन्ने पो सिकाएर जान खोज्नुभएको रहेछ । हो ईश्वर एक छ त्यो चाहे जे नाममा होस् । त्यस्तै बुवा आमा भनेका पनि कुनै पनि व्यक्तिका पनि एक नै हुन्छन् । कसैका पनि बुवा आमा दुई-दुइटा हुनै सक्दैनन् । यी बुवा आमा जसरी परिवर्तन हुँदैनन् त्यस्तै व्यक्तिको धर्म पनि परिवर्तन हुनै सक्दैन । एउटै भाषा र एउटै धर्मको माध्यमले संसारमा साम्राज्य फैलाउने कुचेष्टा भएका देशहरूले मानिसहरूलाई धर्म भनेको स्वतन्त्र चिज हो भने तापनि यो कदापि स्वतन्त्र हुन सक्दैन । हिन्दू हिन्दू नै हुन्छ । मुसलमान मुसलमान नै हुन्छ । इसाइ इसाइ नै हुन्छ । तर जसरी बुवा आमा एउटा एउटी नै भए पनि अरुको बुवा आमा पनि हाम्रा लागि सम्मानित बुवा आमा नै हुनुहुन्छ । तर आफ्ना बुवा आमा छोडेर अर्कैका बु्वा आमालाई आफ्ना भन्न चाहिँ जान सक्दैनौँ त्यसरी नै धर्म र ईश्वर भन्ने चिज पनि त्यस्तै हो । अरुका धर्मलाई र ईश्वरलाई सम्मान त हामीले मजाले गर्न जानेका छौँ । जिसस या अल्लाह हाम्रा लागि आदरणीय नै हुनुहुन्छ तर उहाँहरूलाई हाम्रा सनातन परम्परादेखि पुजिएका ईश्वरलाई पुज्न छोडेर पूजाकोठाभित्र छिराउन चाहिँ सक्दैनौँ र सक्न पनि हुँदैन । किनकि हाम्रा लागि ठूलो कुलधर्म नै हो ।
अतः भगवान् जिसस क्राइष्टको बारेमा सिकाउनका लागि नभएर हामी हामीमा फुट डालेर यो देशमा धर्मयुद्ध गराउने कामका लागि गरिएका धर्मपरिवर्तन जस्तो घातक कार्यमा कुचेष्टा भएका मानिसहरूका बुद्धिमा तपाइँ नफस्नोस् । जिसस बुद्ध अल्लाह सबैलाई समान रुपले मान दिनुहोस् तर जसरी सबैका बाबु आमा हाम्रा लागि सम्माननीय बाबु आमा नै भए तापनि क्रिया कर्म त हामीले हाम्रै आमाको बुवाको गर्नुपर्दछ त्यसैगरी आफ्नो बाबुबाजेले मानिआएको कुलधर्मलाई कहिले नछोड्नोस् । विधर्मीको चाला बुझ्नोस् र नबुझेर गएको भए पनि अब फर्कनोस् । विनासको वेलामा बुद्धि पनि विपरीत तरीकाले हिँड्ने गर्छ भन्ने शास्त्र वचनलाई अत्यन्त मनन गरी “हे हर्क आफ्नैमा फर्क” भन्ने हाम्रो आग्रहलाई भित्रैदेखि विचार गर्नोस् । तपाइँकी आमा नराम्री भई भनेर अर्कैकी आमालाई आमा भन्न जाने काम नगर्नोस् । भरसक आफै जान्नोस् । नभए हामी नेपाली जनताले भनेको मान्नोस् । फर्कने काम नै गर्नुहुँदैन भने पनि संविधानले प्राचीनकालदेखि मानिआएका कुराको जगेर्ना गर्नु भनेकोले यसरी मन्दिरलाई ढाकी चर्च नबनाउनोस् । नभए तपाइँका मिसिनरी कर्तुत ढाक्नका लागि गरिएका विकासले विनास अवस्य ल्याउनेछ । किनकि धर्मो रक्षति रक्षितः । अस्तु ।

प्रतिक्रिया