दक्षिणबाट उत्तरतर्फ रेल सेवा निरन्तर विस्तार, बर्दिवासमा केही वर्षमै रेल पुग्ने
काठमाडौं, ३१ असार । भारतसँग रेल सञ्जाल जोडिएको बिन्दुहरुबाट नेपालतर्फ निरन्तर रेलसेवा विस्तार भइरहेको छ । जयनगरबाट जनकपुर हुँदै बिजलापुरामा विस्तार भएको रेल सेवा अब बर्दिवासतर्फ निर्माण हुने भएको छ ।
बर्दिवाससम्म रेल लान जमिन अधिकरण भइरहेको छ । बर्दिवास नेपालको पूर्वी तराई र पहाडी भेगतर्फ जाने महत्वपूर्ण बिन्दु हो ।
आइतवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बिजलपुरामा आयोजित एक समारोहबीच जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको शुभारम्भ गरे । समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, मधेस प्रदेशका राजनीतिक दलका नेता, सरकारका अधिकारी लगायतको उपस्थिति थियो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल सरकारलाई यो खण्ड हस्तान्तरण गरिएको थियो । कूल १७.३ किलोमिटर लम्बाई रहेको कुर्था–बिजलपुरा खण्डमा कुर्था, पिपराडी, लोहारपट्टी, सिंग्याही र बिजलपुरा गरी ५ वटा स्टेसनहरु रहेका छन् ।
आयोजना १२ अर्बको लागतमा भारत सरकारको अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको हो । यो खण्ड जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग परियोजनाको दोस्रो चरण रहेको छ ।
जयनगरदेखि कुर्थासम्मको पहिलो चरणको गत वर्ष उद्घाटन भई त्यसयता सञ्चालनमा रहेको छ । बिजलपुरादेखि बर्दिवास जोड्ने तेस्रो चरणका लागि हाल जग्गा अधिग्रहणको काम भइरहेको छ ।
समारोहमा बोल्दै मन्त्री ज्वालाले रेल क्षेत्र सहित नेपालका पूर्वाधारको विकासमा भारत सरकारको निरन्तर सहयोगका लागि आभार व्यक्त गरे । उनले रेल कनेक्टिभिटीले दुई देशका जनताबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै यसले नेपालको व्यापार र पर्यटन प्रवर्धन गर्न मद्दत गर्ने बताए।
भारतीय दूतावासका नियोग उप–प्रमुख श्रीवास्तवले दुवै देशका जनताको फाइदाका लागि दुई देशबीच कायम विकास साझेदारीलाई थप बलियो बनाउन भारत सरकार सदैव प्रतिबद्घ रहेको बताए ।
परियोजनाको कार्यान्वयनले नेपालका नयाँ क्षेत्रमा भरपर्दो, किफायती र द्रुत यातायातको व्यवस्था हुनेछ ।