कोरोनाकालामा धोबीखोलाको जग्गा हिनामिना गर्न वडा ढकाल संलग्न रहेको अख्तियारको प्रारम्भिक निष्कर्ष
काठमाडौं, २८ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोनाकालामा धोबीखोलाको सरकारी जग्गा हिनामिना गर्न काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकाल संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ । अख्तियारले उक्त विषयमा विस्तृत छानबिन सुरु गरेको हो ।
अख्तियार उच्च स्रोतका अनुसार अख्तियारको छानबिनमा वडाध्यक्ष ढकालले धोबीखोलाको सरकारी जग्गा नक्कली गुठीमा लगेर मोही खडा गर्न सिफारिस गरेको प्रारम्भिक निष्कर्ष निस्किएको छ । अख्तियारले विशेष टोली नै गठन गरेर अनामनगरस्थित धोबीखोलाको सरकारी जग्गा हिनामिनाको उजुरीमा छानबिन गरिरहेको छ । उक्त कार्यमा वडाध्यक्ष ढकाल संलग्न रहेको अख्तियारले प्रारम्भिक निष्कर्ष निकालेको हो ।
अख्तियार स्रोतका अनुसार धोबीखोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न संलग्न वडाध्यक्ष ढकालमाथि विस्तृत अनुसन्धान गरेर भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी भइरहेको छ । यसका लागि उनलाई अख्तियारले बयान लिँदै छ ।
स्वास्थ्य लाइभले धोबीखोला ‘मास्ने-बेच्ने’ कार्यमा वडाध्यक्ष ढकाल संलग्न रहेको खुलासा गरेपछि अख्तियार तातेको हो । उनले धोबीखोलाको सरकारी जग्गा गुठीमा लान सिफारिस दिएका धेरै कागजात अख्तियारको नियन्त्रणमा पुगिसकेका छन् । अब भने उनीमाथि भ्रष्टाचार मुद्दा चल्ने निश्चित भइसकेको अख्तियार स्रोतको भनाइ छ
वडाध्यक्ष ढकालले धोबीखोलाको १२ रोपनी बढी जग्गा केदारेश्वर महादेव गुठी चौतारिया फत्तेजंग पराक्रम शाह मौजा अन्तर्गत लगेर नक्कली मोही खडा गर्न सिफारिस दिएका छन् । कोरोनाको मौका छोप्दै झन्डै दुई अर्बको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न वडाध्यक्ष ढकाल संलग्न भएका हुन् उनीमाथि अख्तियारले भ्रष्टाचारको डण्डा चलाउन लागेको हो ।