निरजले आत्मदाहको प्रयास किन गरे ?
काठमाडौं, ३१ जेठ । नागरिकताको माग गर्दै काठमाडौंको माईतीघरमा मंगलबार मोरङका निरजकुमार कामतले आत्मदाहको प्रयास गरे।
उनले माईतीघर मण्डलामा नागरिकताको माग गर्दै आत्मदाहको प्रयास गरेका हुन् । गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागकिरता विधेयकमाथि सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि उनी जस्ता हजारौं नागरिकमा निराशा छाएको छ ।
नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ । सोही क्रममा एक युवकले मंगलवार आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । उनी नागरिकताविहीन संघर्ष समितिका सदस्यसमेत हुन् । आत्मदाहको प्रयासपछि माईतीघर मण्डालमा सर्वोच्च अदालत र सरकारको बिरोध भएको छ । उनीहरुले सर्वोच्च अदालतले आफूहरुलाई न्याय नदिएसम्म काठमाडौंमा आन्दोलन गरेर बस्ने चेतावनी दिएका छन् ।
आफूमाथि पेट्रोल खन्याएपछि प्रहरीले उनको उद्धार गरेर ट्रमा सेन्टर लगेको छ । अहिले उनको उपचार भइरहेको छ ।