१२ मंसिर २०८३, शनिबार | November 28, 2026

सत्ताको आडमा नागरिकलाई त्रास र दबाब दिनु लोकतन्त्रकै उपहास


November 28, 2026
0
Shares

काठमाडौं । लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड भनेकै नागरिकको वैयक्तिक स्वतन्त्रता, मानव अधिकारको रक्षा र निष्पक्ष न्याय प्रणाली हो। जब राज्यका संयन्त्रहरू नागरिकको सुरक्षाको साटो त्रासको पर्याय बन्न थाल्छन्, तब लोकतन्त्रको मर्ममाथि गम्भीर प्रहार हुन्छ।

पछिल्लो समय राज्यशक्तिको आडमा नागरिकलाई धम्क्याउने, आँखामा पट्टी बाँधेर अज्ञातस्थलमा बन्धक बनाउने, जबर्जस्ती बयान दिन बाध्य पार्ने र परिवारको जिउज्यानमाथि समेत त्रास सिर्जना गर्ने जस्ता अत्यन्त गम्भीर आरोपहरू सतहमा आएका छन्। यस्ता घटनाले हाम्रो लोकतान्त्रिक अभ्यास र मानव अधिकारको अवस्थाप्रति गहिरो प्रश्नचिह्न खडा गरेका छन्।

अझ गम्भीर र संवेदनशील विषय त के छ भने, इनम सापकोटाले आफूलाई नेपाली कांग्रेसका सभापति गगन थापालगायतका राजनीतिक नेतृत्वविरुद्ध राज्यसंयन्त्रको अनुकूल हुने गरी बयान दिन चरम दबाब दिइएको खुलासा गरेका छन्। त्यसो नगरे झुटा मुद्दामा फसाउने र परिवारसमेतलाई दुःख दिने धम्की दिइएको उनको दाबीले राज्यसंयन्त्रको कार्यशैलीमाथि गम्भीर शङ्का पैदा गरेको छ।

यदि राज्यका अनुसन्धान निकायहरूलाई सत्यतथ्य पत्ता लगाउने संवैधानिक दायित्वबाट विमुख गराएर राजनीतिक प्रतिशोध साँध्ने र सत्ताले चाहेका व्यक्तिहरूविरुद्ध ‘प्रायोजित बयान’ तयार पार्ने हतियार बनाइएको हो भने, त्यो कुनै पनि हालतमा विधिको शासन हुन सक्दैन। यो सरासर सत्ताको चरम दुरुपयोग र निरङ्कुश प्रवृत्तिको पुनरावृत्ति हो। अनुसन्धान स्वतन्त्र र प्रमाणमुखी हुनुपर्छ, न कि कसैको राजनीतिक स्वार्थ पूर्ति गर्ने माध्यम।

लोकतन्त्रमा सरकारको आलोचना गर्नु नागरिकको नैसर्गिक अधिकार हो। तर, सरकारको आलोचकलाई अपराधीको व्यवहार गर्ने, राजनीतिक प्रतिस्पर्धीलाई सिध्याउन कृत्रिम प्रमाण र बयान तयार पार्ने अनि आम नागरिकलाई भयको वातावरणमा बाँच्न बाध्य पार्ने अधिकार कुनै पनि सरकारलाई हुँदैन। राज्यआतङ्क सिर्जना गरेर क्षणिक राजनीतिक लाभ त लिन सकिएला, तर त्यसले समग्र व्यवस्थाप्रतिको जनविश्वासलाई समाप्त पार्दछ।

अतः राज्यशक्तिको यस्तो दुरुपयोग, राजनीतिक प्रतिशोध र दण्डहीनताको प्रवृत्तिको चौतर्फी विरोध हुनु अपरिहार्य छ। इनम सापकोटाले सार्वजनिक गरेका गम्भीर आरोपहरूको अविलम्ब स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्छ। छानबिनबाट दोषी देखिने जोसुकै होस् (चाहे त्यो जतिसुकै उच्च ओहोदामा बसेको व्यक्ति किन नहोस्) कानुनी कठघरामा उभ्याइनुपर्छ।

इतिहास साक्षी छ, सत्ता कहिल्यै स्थायी हुँदैन। आज सत्ताको आडमा कानुन मिच्नेहरू भोलि आफैँ त्यही नजिरको सिकार बन्न सक्छन्। त्यसैले, क्षणिक सत्तास्वार्थभन्दा माथि उठेर लोकतन्त्र, नागरिक स्वतन्त्रता र विधिको शासनलाई सधैँ सर्वोपरि राख्नु नै आजको मुख्य आवश्यकता हो।
(विराज भट्ट गोरखा क्षेत्र न २ प्र स ख का उपसभापति हुन् ।)

प्रतिक्रिया