विपत् व्यवस्थापनदेखि संगठन सुदृढीकरणसम्म कांग्रेसले ध्यान दिनुपर्छ : रुपा विक
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री रुपा विकले पार्टीले संगठन विस्तारसँगै विपत् व्यवस्थापन, जलवायु परिवर्तन र सीमान्तकृत समुदायको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्।
कांग्रेस केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै विकले ‘हामी तयार छौँ’ अभियानले सकारात्मक सन्देश दिएको उल्लेख गर्दै ७५३ वटै स्थानीय तहमा प्रतिनिधि खटाउँदा उनीहरूको जिम्मेवारी, कार्यक्षेत्र र कार्यसर्त स्पष्ट हुनुपर्नेमा जोड दिइन्।
उनले स्थानीय तहमा पार्टी संगठनको वर्तमान अवस्था, नेतृत्व, संशोधित विधानपछिको संरचना र पार्टीले तय गरेका कार्यक्रमलाई आधार बनाएर अभियान प्रभावकारी बनाउनुपर्ने बताइन्।
विकले भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको विपत्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणलाई पनि तत्काल कार्यान्वयनमा लैजानुपर्ने धारणा राखिन्। यससम्बन्धी प्रस्ताव पारित भइसकेकाले अब प्राविधिक टोली र जिम्मेवार निकायले ढिलाइ नगरी काम अघि बढाउनुपर्ने उनको भनाइ थियो।
त्यस्तै, कांग्रेसको संशोधित विधानमा अघिल्लो विधानमा रहेको वन, वातावरण तथा विपत् व्यवस्थापन विभाग नदेखिएको विषय उठाउँदै उनले जलवायु परिवर्तन, वातावरण तथा विपत् व्यवस्थापनसम्बन्धी विभाग पुनः गठन गर्नुपर्ने माग गरिन्।
जलवायु परिवर्तनको असर नेपालका दलित, सीमान्तकृत समुदाय, विशेषगरी महिला तथा बालबालिकामा बढी जोखिमपूर्ण हुन सक्ने उल्लेख गर्दै विकले यस विषयलाई पार्टीको प्राथमिकतामा राख्नुपर्ने बताइन्।
भूकम्प, कोरोना महामारी तथा पछिल्ला बाढीपहिरोजस्ता विपत् बारम्बार दोहोरिइरहेको सन्दर्भमा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो। स्थानीय, प्रदेश र संघीय सरकारसँग सहकार्य गरी समुदायलाई विपत् सामना गर्न सक्षम बनाउने, सुरक्षा सुनिश्चित गर्ने र पूर्वतयारीलाई प्रभावकारी बनाउने विषयमा पार्टीले स्पष्ट नीति लिनुपर्ने उनले बताइन्।
विकले विपत् व्यवस्थापन तथा जनसरोकारका विषयमा सरकारको तयारी र कार्यशैली कमजोर देखिएको भन्दै पार्टीले नियमित अनुगमन गर्नुपर्ने, जनताका आवाज उठाउनुपर्ने र आवश्यकताअनुसार आफ्नै वैकल्पिक प्रस्ताव तथा सुझाव प्रस्तुत गर्नुपर्ने धारणा राखिन्।
यसैगरी, १५औँ महाधिवेशन र संशोधित विधानपछिको पार्टी संगठनको अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्नेमा पनि उनले जोड दिइन्। संगठनका कमीकमजोरी पहिचान गर्दै आगामी निर्वाचनलाई समेत ध्यानमा राखेर पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर अघि बढाउनुपर्ने उनको सुझाव थियो।
विकका धारणा संगठन विस्तार, विपत् व्यवस्थापन, जलवायु न्याय र पार्टीको आन्तरिक एकतालाई एकसाथ अघि बढाउनुपर्नेमा केन्द्रित थिए।




