१४ वर्षीया बुहारीमाथि ससुराबाट बलात्कार, श्रीमान्बाट निर्घात कुटपिट, भिडियो भाइरल
कल्पना गर्नुस्, जुन घरलाई एउटी बालिकाले आफ्नो सुरक्षित संसार ठानिन्, त्यही घर उनका लागि सबैभन्दा असुरक्षित बन्यो। एकातिर ससुराबाट बलात्कार, अर्कोतिर श्रीमान्बाट निर्घात कुटपिट
मोरङको कानेपोखरीमा मानवता नै लज्जित बनाउने यस्तो जघन्य घटना सार्वजनिक भएको छ।
घटना हो, १४ वर्षीया बालिकाको। प्रहरीका अनुसार गत कात्तिक २९ गते राति कानेपोखरी गाउँपालिका–६ स्थित आफ्नै घरमा ५५ वर्षीय ससुराले ती बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ।
सूचना पाएलगत्तै प्रहरीले आरोपित ससुरालाई पक्राउ गर्यो। मंसिर १ गते अदालतबाट म्याद थप गरी उनीमाथि जबरजस्ती करणी कसुरमा अनुसन्धान अघि बढाइयो।
तर, घटनाको अर्को पाटो झन् स्तब्ध पार्ने छ।
ससुरामाथि बलात्कारको आरोप लागेपछि पीडित बालिकाले न्याय र सुरक्षाको अपेक्षा गर्नुपर्ने थियो। तर, उनका २३ वर्षीय श्रीमान् भने आमासमेतलाई छेउमा राखेर उल्टै बालिकामाथि सोधपुछ गर्दै कुटपिटमा उत्रिए।
यतिसम्म कि, श्रीमतीलाई कुटपिट गरेको भिडियो आफैँले सामाजिक सञ्जालमा अपलोड गरे।
त्यही भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले व्यापक ध्यानाकर्षण गरायो। त्यसपछि प्रहरीले कुटपिट गर्ने र भिडियो सार्वजनिक गर्ने श्रीमान्लाई पनि मंसिर ९ गते पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनीमाथि विद्युतीय अपराध र बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको छ।
अर्थात्, एउटी १४ वर्षीया बालिकामाथि भएको कथित यौन हिंसापछि उनलाई संरक्षण दिनुपर्ने परिवारकै सदस्यबाट थप हिंसा भएको आरोप छ।
यो घटनाले एउटा गम्भीर प्रश्न खडा गरेको छ—बालिका आफ्नै घरभित्र सुरक्षित छैनन् भने उनीहरूको सुरक्षा कसले गर्नेरु
ससुरामाथि बलात्कारको आरोप, श्रीमान्माथि कुटपिट र भिडियो सार्वजनिक गरेको आरोप। अब यी कसुरको निष्पक्ष अनुसन्धान र पीडित बालिकाको सुरक्षा तथा न्याय सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो।
बालिकामाथिको हिंसा कुनै पनि हालतमा सह्य हुन सक्दैन। पीडितलाई थप पीडा होइन, न्याय र संरक्षण चाहिन्छ।




