११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

अधिवेशन बोलाउन विपक्षीको दबाब


November 27, 2026
0
Shares

काठमाडौं । सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको भन्दै विपक्षी दलहरूले तत्काल संसद् अधिवेशन बोलाउन माग गरिरहेका छन्।

सरकारी निकाय र अदालतमा बिचौलियाको प्रभाव, न्यायिक विवादको निरूपण, प्रशासनिक अन्योल, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तथा जनसरोकारका विषयमा सदनमा छलफल र छानबिन हुनुपर्ने विपक्षीको माग छ।

उता, रास्वपाले संसद् अधिवेशनमार्फत न्यायालय शुद्धीकरण र महाभियोगसम्बन्धी एजेन्डा अघि बढाउने तयारी गरेको बताइएको छ। मलेसिया प्रकरणमा विपक्षीले सभामुखको भूमिकामाथि प्रश्न उठाउन सक्ने भएकाले पनि अधिवेशन सुरु भएपछिको संसदीय वातावरण कस्तो हुने भन्ने चासो बढेको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले भने संसद् अधिवेशन ढिलो बोलाउनुपर्ने कुनै कारण नरहेको बताएका छन्। अधिवेशन बोलाउने जिम्मेवारी सरकारको भएको उनको भनाइ छ।

गत असोज १६ गते बजेट अधिवेशन अन्त्य भएपछि सरकारले राष्ट्रपतिसमक्ष आठवटा अध्यादेश सिफारिस गरेको थियो। तीमध्ये पाँचवटा जारी भइसकेका छन् भने तीनवटा अझै राष्ट्रपति कार्यालयमा विचाराधीन छन्।

विचाराधीन अध्यादेशमा कात्तिक १७ गते सिफारिस गरिएको प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश र मंसिर ४ गते सिफारिस गरिएको जेन–जी आन्दोलनका घटनासम्बन्धी छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश छन्।

संविधानको धारा ९३ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ।

यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच बिहीबार भेटवार्ता भएको छ। भेटमा संसद् अधिवेशन आह्वान, प्रधानमन्त्रीको भारत भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

अध्यादेश जारी गर्ने सरकारी तयारी, मलेसिया प्रकरणमा भइरहेको अनुसन्धान र विपक्षी दलहरूको दबाबका बीच अब संसद्को हिउँदे अधिवेशन कहिले सुरु हुन्छ भन्ने विषय राजनीतिक वृत्तको चासोको केन्द्र बनेको छ।

प्रतिक्रिया