११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

अध्यादेशको चक्करमा संसद् अधिवेशन अनिश्चित


November 27, 2026
0
Shares

काठमाडौं । संघीय संसद्को हिउँदे अर्थात् विधेयक अधिवेशन कहिले बोलाउने भन्ने विषय अझै अनिश्चित बनेको छ। सरकारले पूर्वाधार सम्मेलनलाई लक्षित गर्दै थप अध्यादेश ल्याउने तयारी गरेपछि संसद् अधिवेशन तत्काल आह्वान हुने सम्भावना कमजोर बन्दै गएको हो।

सरकारले जारी गर्न सिफारिस गरेका तीनवटा अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छन्। त्यसमाथि मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको अवैध असुली प्रकरणमा सभामुख डोलप्रसाद अर्यालको तत्कालीन मन्त्रीकालसमेत जोडिएपछि संसद् अधिवेशनको विषय थप पेचिलो बनेको छ।

सरकारले यही मंसिर २३ र २४ गते आयोजना हुने पूर्वाधार सम्मेलनअघि लगानी प्रवर्द्धन, पूर्वाधार निर्माण र जग्गा प्राप्तिसँग सम्बन्धित कानुनी अवरोध हटाउन थप अध्यादेश ल्याउने तयारी गरेको छ। यसका लागि ५९ वटा प्रचलित ऐनका करिब ४९४ दफा संशोधन गर्ने तयारी रहेको बताइएको छ। केही स्रोतले भने संशोधन गर्नुपर्ने ऐनको संख्या ६४ रहेको उल्लेख गरेका छन्।

संविधानअनुसार संसद्को अधिवेशन आह्वान भएपछि अध्यादेश ल्याउन पाइँदैन। त्यसैले सरकारले आफूले चाहेका अध्यादेश जारी गराउन संसद् अधिवेशन आह्वानमा ढिलाइ गरिरहेको आशंका गरिएको छ।

राष्ट्रपति कार्यालयमा विचाराधीन तीन अध्यादेश र नयाँ अध्यादेश सिफारिस तथा जारी गर्ने प्रक्रिया एक साताभित्र पूरा भएमा मात्रै मंसिरको अन्तिम सातासम्म अधिवेशन बोलाउन सकिने संसद् सचिवालयका अधिकारीहरूको भनाइ छ।

यसअघि गत कात्तिक १२ गते राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र सभामुख अर्यालबीच मंसिर १८ आसपास संसद्को हिउँदे अधिवेशन बोलाउने विषयमा छलफल भएको थियो। त्यसपछि सभामुखले विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटमा मंसिर अन्तिम सातासम्म अधिवेशन बोलाउने तयारी भइरहेको जानकारी दिएका थिए।

तर अहिले सरकारको अध्यादेश ल्याउने तयारी र मलेसिया प्रकरणमा सभामुखको नामसमेत जोडिएपछि संसद् बैठकको समयतालिका अन्योलमा परेको छ।

प्रतिक्रिया