११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता ३९ सय जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस


November 27, 2026
166
Shares

काठमाडौं । रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जना नेपाली नागरिकलाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका बेपत्ता नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

समितिको निर्णयसँगै लामो समयदेखि बेपत्ता आफन्तको अवस्थाबारे अन्योलमा रहेका हजारौँ परिवारका लागि कानुनी प्रक्रिया अघि बढ्ने भएको छ। यद्यपि, उनीहरूलाई मृत घोषणा गर्ने अन्तिम निर्णय भने नेपाल सरकारले गर्नुपर्नेछ।

बैठकमा सातवटा विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी नागरिकको विवरणसमेत प्रस्तुत गरिएको छ।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३०) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ।

स्वदेशी नागरिकको विवरण सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा सङ्कलन गरिएको थियो। विदेशी नागरिकको हकमा भने सम्बन्धित मुलुकका नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएका नियोगबाट प्राप्त सूचीका आधारमा विवरण सङ्कलन गरिएको हो।

यसैबीच, बैठकले विपद् जोखिम न्यूनीकरणका लागि विभिन्न तीनवटा राष्ट्रिय नीति तथा कार्ययोजना पनि स्वीकृत गरेको छ।

बैठकले ‘सबैका लागि पूर्वसूचना (अर्ली वार्निङ फर अल) राष्ट्रिय मार्गचित्र, २०८३–२०८७’ स्वीकृत गरेको छ। यसले २०८७ सालसम्म नेपालका सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना प्रणालीको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

त्यस्तै, वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ र कार्ययोजना २०८३/८४–२०९१/९२ तथा वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३–२०८७ पनि बैठकले स्वीकृत गरेको छ।

यी योजनामार्फत विपद्को पूर्वतयारी, जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनलाई थप व्यवस्थित बनाउने सरकारको लक्ष्य रहेको छ।

प्रतिक्रिया