७ मंसिर २०८३, सोमबार | November 23, 2026

नेपाल र भारतबीच के के भयो सहमती ?


November 23, 2026
0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणको समापनमा दुई देशबीच संयुक्त विज्ञप्ति जारी भएको छ । विज्ञप्तिअनुसार विकास सहायता, ऊर्जा, कनेक्टिभिटी, शिक्षा र प्रविधिलगायतका क्षेत्रमा महत्वपूर्ण सहमति तथा सम्झौताहरू भएका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहको पदभार ग्रहणपछिको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा जारी गरिएको संयुक्त प्रेस वक्तव्यअनुसार दुई देशका प्रधानमन्त्रीबीच द्विपक्षीय सहयोग, क्षेत्रीय चासो र विश्वव्यापी घटनाक्रमका विषयमा विस्तृत छलफल भयो ।

हवाई मार्ग दोहोरो बनाइने, गुजरात र उडिसाका बन्दरगाहमा पहुँच

नेपालको हवाई र जलमार्ग कनेक्टिभिटी विस्तारका लागि दुई महत्त्वपूर्ण निर्णय भएका छन् । हाल एकतर्फी मात्र रहेको ‘बी३४५’ काठमाडौँ–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी ९दोहोरो० बनाउने सहमति भएको छ । यसका प्राविधिक पक्ष टुङ्ग्याउन छिट्टै प्राविधिक परामर्श गरिनेछ।

प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि गुजरातको काण्डलास्थित दीनदयाल बन्दरगाह प्रयोगको नयाँ मार्ग उपलब्ध गराउने घोषणा गरेका छन् । साथै, आवश्यक पूर्वाधार तयार भएपछि उडिसाको पारादीप बन्दरगाहमा समेत नेपाललाई पहुँच दिइनेछ ।

अयोध्या–जनकपुर ‘सरयु–कमला एक्सप्रेस’ रेल उद्घाटन र रक्सौल–काठमाडौं रेलमार्ग

दुई प्रधानमन्त्रीले अयोध्या र जनकपुरधामबीच चल्ने ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवाको संयुक्त रूपमा हरियो झण्डा देखाएर उद्घाटन गरे । यसले रामायण सर्किटअन्तर्गत धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । दुवै नेताले बौद्ध र शिव–शक्ति धार्मिक पर्यटन सर्किटमा पनि यस्तै कनेक्टिभिटी खोज्ने सहमति गरेका छन् ।

प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको ‘फिल्ड लोकेसन सर्वेक्षण’ सम्पन्न भएको घोषणा गरिएको छ भने नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति भएको छ ।

सीमा पूर्वाधार, पेट्रोलियम पाइपलाइन र सीमा विषय

दुवै नेताले वनबासामा नयाँ एकीकृत जाँच चौकी ९आइसीपी० को भर्चुअल शिलान्यास गरेका छन् भने भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन आईसीपीहरूको प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन् ।

पश्चिम नेपाल र भारतबीचको सिधा सम्पर्कका लागि धार्चुला ९भारत० र दार्चुला ९नेपाल० जोड्ने नयाँ मोटरेबल पुलको उद्घाटन गरिएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गरिएको छ । झापामा पेट्रोलियम टर्मिनलको भर्चुअल शिलान्यास गर्दै सिलिगुडी–झापा पाइपलाइनको काम छिट्टै सुरु गर्न र ग्यास पाइपलाइन निर्माणमा सहकार्य खोज्न सहमति भएको छ ।

सीमा स्तम्भहरूको मर्मतसम्भारमा भएको प्रगतिको प्रशंसा गर्दै बाँकी रहेका सीमासम्बन्धी विषयहरू सुल्झाउन दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको छ ।

विद्युत् क्षेत्रको सहकार्यअन्तर्गत ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल शिलान्यास गरिएको छ । दुवै नेताले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० छिट्टै टुङ्ग्याएर निर्माण कार्य सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर कार्यलाई पनि तीव्रता दिने सहमति भएको छ । इनरुवा–न्यु पूर्णिया र दोदोदारा–बरेली उच्च क्षमताको अन्तरदेशीय प्रसारण लाइनका लागि संयुक्त उपक्रम ९झेभी० गठनमा भएको प्रगतिप्रति पनि सन्तोष व्यक्त गरिएको छ ।

नेपालमा आईआईटी क्याम्पस स्थापना र बैंकिङ–टेलिकम सहजता

शिक्षा र प्रविधि क्षेत्रमा फड्को मार्ने गरी भारतले नेपालमा आईआईटीको अफ–शोर क्याम्पस स्थापना गर्ने सहमति भएको छ । यसले नेपालको शिक्षा र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा छ । साथै, एक देशमा बसोबास गर्ने अर्को देशका नागरिकका लागि बैंकिङ र टेलिकम जस्ता सेवाहरूमा सहज पहुँच उपलब्ध गराउन दुवै पक्ष सहमत भएका छन् । भ्रमणका क्रममा विभिन्न ८ वटा विषयमा समझदारीपत्र आदानप्रदान भएका छन् ।

प्रतिक्रिया