कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा जयकृष्ण महर्जन चयन
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको जिल्ला अधिवेशनलाई तीव्रता दिँदै विभिन्न जिल्लामा नयाँ नेतृत्व चयन गरिरहेको छ। यसैक्रममा काठमाडौं जिल्ला सभापतिमा युवा नेता जयकृष्ण महर्जन चयन भएका छन्।
देउवा पक्षले अहिलेसम्म ४३ जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ। अधिकांश जिल्लामा सहमतिका आधारमा सभापतिसहित पदाधिकारी तथा कार्यसमिति चयन गरिएको बताइएको छ।
विद्यार्थी राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा स्थापित महर्जन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य तथा शंकरदेव क्याम्पसका पूर्व स्ववियु सभापति हुन्। उनी काठमाडौं क्षेत्र नम्बर ९ को क्षेत्रीय सभापतिमा दोस्रो कार्यकालसमेत जिम्मेवारी सम्हालिसकेका नेता हुन्।
संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय रहँदै आएका महर्जनलाई यसअघि नेपाली कांग्रेसको संस्थापन इतर समूहले आसन्न १५औँ महाधिवेशनको तयारीका लागि काठमाडौं जिल्ला संयोजकको जिम्मेवारीसमेत दिएको थियो।
पार्टीको आन्तरिक शक्ति सन्तुलन र आगामी महाधिवेशनको तयारीका दृष्टिले काठमाडौं जिल्ला नेतृत्वलाई अर्थपूर्ण रूपमा हेरिएको छ। महर्जनको चयनसँगै राजधानीमा देउवा पक्षको संगठनात्मक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।


