दैलेखमा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती र छोराछोरी घाइते, दुईको मृत्यु
काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानिखोलामा घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराछोरीमाथि बन्चरो प्रहार गरेका छन् ।
बन्चरो प्रहारबाट दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार अम्बर सलामी मगरले आफ्नी ३५ वर्षीया श्रीमती मनिसा सलामी मगरसहित तीन छोराछोरीमाथि बन्चरो प्रहार गरेका हुन् ।
घटनामा १२ वर्षीय छोरा तपेन्द्र सलामी र छोरी करिस्माको मृत्यु भएको जनाइएको छ । त्यस्तै, श्रीमती मनिसा, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी गम्भीर घाइते भएका छन् ।
घाइते तीनै जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि दुल्लु नगर अस्पताल पठाइएको छ ।
घटनामा संलग्न अम्बर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ ।


