रवि लामिछाने र डीपी अर्याललाई मुकुल–निशाको विवाहको निम्तो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वउपसभापति एवं सभामुख डोलप्रसाद अर्याललाई पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री निशा डाँगीले विवाहको निम्तो दिएका छन् । दुवै नेताले विवाह समारोहमा सहभागी हुने आश्वासन दिँदै जोडीलाई शुभकामना र आशीर्वाद दिएका छन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका ढकाल र डाँगीले मंगलबार बुढानीलकण्ठस्थित लामिछाने निवासमै पुगेर विवाहको निमन्त्रणा कार्ड हस्तान्तरण गरेका हुन् । पार्टीबाट निष्कासनमा परेपछि लामिछानेसँगको सम्बन्ध चिसिएको ठानिएका ढकाल पहिलो पटक उनको निवास पुगेका थिए ।
ढकालका अनुसार लामिछानेसँगको भेटमा राजनीतिकभन्दा पारिवारिक विषयमा कुराकानी भएको थियो । निम्तो स्वीकार गर्दै लामिछानेले विवाहमा उपस्थित भएर आशीर्वाद दिने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै, बुधबार बिहान दुवै जना सभामुख अर्यालको निवास पुगेर उनलाई पनि विवाहको निमन्त्रणा दिएका थिए । अर्यालले समेत विवाहमा सहभागी हुने बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणको तयारीमा व्यस्त रहेकाले तत्काल निमन्त्रणा दिन नसकिएको ढकालले बताए । प्रधानमन्त्री स्वदेश फर्किएपछि उनलाई पनि औपचारिक निमन्त्रणा दिइनेछ । रास्वपाका अन्य शीर्ष नेताहरूलाई समेत विवाहमा बोलाउने तयारी भइरहेको उनले जानकारी दिए ।
रातोपाटीसँग कुरा गर्दै ढकालले भने, ‘रविजी र डीपीजीलाई हामीले निवासमै पुगेर निम्ता दिएका हौँ । उहाँहरूले शुभकामना दिँदै विवाहमा आउने बताउनुभएको छ । प्रधानमन्त्री भारत भ्रमणको तयारीमा व्यस्त भएकाले निम्ता पत्र दिन सम्भव भएन । उहाँ स्वदेश फर्किएपछि निम्ता पठाउँछौँ ।’
पार्टीको उतारचढावबीच जोगिएको प्रेम सम्बन्ध
मुकुल ढकाल र रवि लामिछानेबीच रास्वपा गठन हुनुअघिदेखि नै घनिष्ठ सम्बन्ध थियो । ढकालकै अग्रसरतामा लामिछानेको नेतृत्वमा २०७९ सालमा रास्वपा गठन भएको थियो । तर, पार्टीभित्रको विवादले उनीहरूको सम्बन्धमा ठूलो दरार ल्यायो ।
पार्टीले गठन गरेको समीक्षात्मक प्रतिवेदन केन्द्रीय समिति बैठकअघि नै सञ्चारमाध्यममा सार्वजनिक गरेको आरोपमा २०८१ असारमा ढकाललाई महामन्त्री पदबाट हटाउँदै पार्टीबाटै निष्कासन गरिएको थियो ।
यता, ढकाल पार्टीबाट निष्कासित भए पनि निशा डाँगीले भने पार्टी छाडिनन् । अघिल्लो प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी डाँगी गत असारमा चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट सर्वाधिक मतसहित सहमहामन्त्री निर्वाचित भएकी थिइन् ।
राजनीतिक रूपमा दुई फरक अवस्थामा पुगे पनि उनीहरूको व्यक्तिगत सम्बन्ध भने निरन्तर रह्यो । ढकालका अनुसार लामिछाने र तत्कालीन उपसभापति अर्याल दुवैलाई उनीहरूको प्रेम सम्बन्धबारे पहिलेदेखि नै जानकारी थियो ।
पारिवारिक तथा अन्य विभिन्न कारणले विवाहको योजना पटक–पटक पछि सर्दै आएको भए पनि अब त्यसलाई औपचारिकता दिन लागिएको ढकालले बताएका छन् ।
मंसिर १० गते झापा जाँदै जन्ती
ढकालले मंसिर १० गते आफ्नै निवासबाट जन्ती लिएर डाँगीको घर झापा जाने तयारी गरेका छन् । लामो समय गोप्य राखिएको उनीहरूको प्रेम सम्बन्ध अब विवाहमार्फत औपचारिक सम्बन्धमा परिणत हुँदैछ ।
राजनीतिक जीवनमा सहयात्री बनेका दुई पात्रमध्ये एक पार्टीको नेतृत्व तहमा कायम र अर्का पार्टीबाट निष्कासित भए पनि उनीहरूको व्यक्तिगत सम्बन्ध भने टुटेन । पार्टीभित्रको राजनीतिक उतारचढाव, विवाद र दूरीबीच निरन्तर रहेको प्रेम सम्बन्धले अहिले विवाहको रूप लिन लागेको छ ।


