‘काठमाडौं जिल्लालाई टिकट बाँड्ने अधिकार दिलाउँछु’ भन्दै सभापतिमा महर्जनको दाबी
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशनमा जिल्ला सभापतिका आकांक्षी जयकृष्ण महर्जनले जिल्लाको अधिकार र पार्टीभित्रको टिकट वितरण प्रणालीलाई मुख्य मुद्दा बनाएका छन्।
शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महर्जनले काठमाडौं जिल्लाले अहिलेसम्म स्थानीय तहको निर्वाचनमा उम्मेदवारको टिकट वितरण गर्ने अधिकार नपाएको गुनासो गरे।
उनले आफू जिल्ला सभापति निर्वाचित भए काठमाडौं जिल्लाबाटै उम्मेदवारको टिकट वितरण गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे।
‘वडाको टिकट क्षेत्रले बाँड्छ, नगरपालिकाको टिकट प्रदेशले बाँड्छ। अहिलेसम्म काठमाडौंमा जिल्लाले कुनै पनि टिकट बाँड्न पाएको छैन। म काठमाडौं जिल्लाको सभापति भएँ भने जिल्लाबाटै सबै टिकट वितरण गर्ने व्यवस्था मिलाउनेछु। त्यसकारण मलाई एकपटक जिल्ला सभापति हुने मौका दिनुहोला,’ महर्जनले भने।
अन्य जिल्लाको तुलनामा काठमाडौं जिल्लालाई पार्टीको आन्तरिक संरचनामा कमजोर बनाइएको उनको भनाइ थियो। रुकुम, रोल्पा, दाङ र बैतडीलगायतका जिल्लामा जिल्ला सभापतिले वडा सदस्यदेखि गाउँपालिका र नगरपालिकासम्मका उम्मेदवारको टिकट वितरण गर्न पाउने अवस्था रहेको उल्लेख गर्दै उनले काठमाडौंमा पनि त्यस्तै अधिकार स्थापित गर्नुपर्ने बताए।
महर्जनले जिल्ला सभापति बन्ने अवसर पाए काठमाडौं कांग्रेसलाई थप अधिकारसम्पन्न बनाउने सन्देश दिएका छन्। उनको अभिव्यक्तिले जिल्ला अधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको सांगठनिक अधिकार र टिकट वितरणको विषयसमेत चुनावी मुद्दा बनेको देखाएको छ।
देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, नेता डा। शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायतका नेताहरू सहभागी थिए।
यसैबीच, देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। जिल्ला अधिवेशनलाई उक्त महाधिवेशनको तयारी र संगठनात्मक शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ।



