१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

सर्वसाधारणलाई स्वामित्वमा जोड्दै भिजन लुम्बिनी, आईपीओ निष्कासनको तयारीमा


November 5, 2026
0
Shares

बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त, १२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिने

काठमाडौं । सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यसहित भिजन लुम्बिनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाएको छ। यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई आईपीओको बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा भिजन लुम्बिनी लिमिटेडका तर्फबाट अध्यक्ष जगतबहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् १२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले निष्कासन हुने उक्त शेयरमार्फत सर्वसाधारणले पनि कम्पनीको स्वामित्वमा प्रत्यक्ष सहभागी हुने अवसर पाउनेछन्।

भिजन लुम्बिनीलाई नेपालको पहिलो ‘क्राउड मोडल’ अर्थात् सामूहिक लगानी तथा स्वामित्वको अवधारणामा आधारित कम्पनीका रूपमा अघि बढाइएको कम्पनीको दाबी छ। यस मोडलले सीमित व्यक्तिमा मात्र कम्पनीको स्वामित्व केन्द्रित नराखी आम नागरिकलाई पनि लगानीकर्ता तथा उद्यमको हिस्सेदार बन्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

भिजन लुम्बिनी तथा भिजन नेपालअन्तर्गत हाल १८ वटा कम्पनी सञ्चालनमा रहेको र ती कम्पनीहरू सफलतापूर्वक अघि बढिरहेको कम्पनीका सञ्चालक अर्जुन थापाले जानकारी दिए।

उनका अनुसार भिजन लुम्बिनीको उद्देश्य व्यवसाय विस्तारमा मात्र सीमित छैन। एक लाख रोजगारी सिर्जना गर्ने र लाखौँ उद्यमी उत्पादन गर्ने दीर्घकालीन लक्ष्यसहित कम्पनी स्थापना गरिएको हो। सर्वसाधारणले सहज रूपमा लगानी गर्न र उद्यमशीलताको यात्रामा सहभागी हुन सक्ने वातावरण निर्माण गर्नु कम्पनीको मुख्य अवधारणा रहेको उनले बताए।

‘थोरै लगानीबाट पनि धेरै नागरिकलाई उद्यम तथा व्यवसायको स्वामित्वमा जोड्ने र सामूहिक पुँजी परिचालनमार्फत रोजगारी तथा उद्यमशीलता विस्तार गर्ने हाम्रो लक्ष्य हो,’ सञ्चालक थापाको भनाइ छ।

आईपीओ निष्कासनसँगै भिजन लुम्बिनीले आफ्नो सामूहिक लगानीको अवधारणालाई थप विस्तार गर्दै सर्वसाधारणलाई कम्पनीको विकास, विस्तार र प्रतिफलसँग प्रत्यक्ष जोड्ने अपेक्षा गरेको छ। यसले नेपालको उद्यमशीलता र सामूहिक लगानी संस्कृतिको विकासमा नयाँ सम्भावना खोल्ने कम्पनीको विश्वास छ।

प्रतिक्रिया