१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

गगनसँगै विद्यार्थी राजनीतिबाट उदाएका दीपक भट्टराई केन्द्रीय सदस्यमा उठ्दै


October 2, 2026
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता दीपक भट्टराईले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भट्टराईले आगामी असोज १८ गतेदेखि हुने महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन लागेका हुन् ।

विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारको राजनीतिमा स्थापित भएका भट्टराईलाई पार्टीभित्र विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएका युवा नेताका रूपमा चिनिन्छ ।

भट्टराईको राजनीतिक यात्रा वर्तमान पार्टी सभापति गगन थापासँगै विद्यार्थी राजनीतिबाट सुरु भएको हो । त्रिचन्द्र क्याम्पसमा गगन थापा स्ववियु सभापति हुँदा भट्टराई उहाँकै टिमबाट सहसचिव पदमा निर्वाचित भएका थिए । एउटै इकाइ समितिबाट विद्यार्थी राजनीति सुरु गरेका उनीहरूले त्रिचन्द्रको स्ववियुमा समेत सँगै नेतृत्व गरेका थिए ।

राजाको प्रत्यक्ष शासनकालमा भएको विद्यार्थी आन्दोलनमा समेत भट्टराई सक्रिय रहे । विद्यार्थीका हकहित र लोकतान्त्रिक अधिकारका पक्षमा भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण उनी विद्यार्थीमाझ लोकप्रिय युवा नेताका रूपमा स्थापित भए ।

नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका भट्टराईले लामो समय विद्यार्थी राजनीतिलाई नेतृत्व गरेका छन् । विद्यार्थी आन्दोलनबाट प्राप्त अनुभवलाई अब पार्टीको मूल राजनीतिमा उपयोग गर्ने उद्देश्यसहित उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

राजनीतिसँगै शैक्षिक क्षेत्रमा पनि भट्टराईको परिचय अब्बल विद्यार्थीका रूपमा रहेको छ । उनले समाजशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका छन् । हाल उनी पीएचडी अध्ययनको तयारीमा समेत छन् ।

विद्यार्थी आन्दोलनदेखि पार्टी संगठनसम्मको अनुभव, लामो राजनीतिक सक्रियता र शैक्षिक पृष्ठभूमिका कारण भट्टराईको उम्मेदवारीलाई कांग्रेसको नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ ।

विद्यार्थी राजनीतिमा लामो समय नेतृत्व गरेका भट्टराई अब पार्टीको केन्द्रीय नेतृत्वमा पुगेर संगठनलाई थप गतिशील बनाउने र युवा पुस्ताको आवाजलाई पार्टीको निर्णय तहसम्म पुर्‍याउने लक्ष्यसहित मैदानमा उत्रिन लागेका छन् ।

प्रतिक्रिया