आत्मीयता र एकतासहित देउवा पक्षको महाधिवेशनमा सहभागी हुन गुल्मीका सचिव घिमिरेको अपिल
गुल्मी । नेपाली कांग्रेस गुल्मीले पार्टीभित्रको आन्तरिक एकता, आत्मीयता र हार्दिकता कायम गर्दै १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन नेता–कार्यकर्तालाई अपिल गरेको छ ।
कांग्रेस गुल्मीका सचिव रवीन्द्र घिमिरेले एक विज्ञप्ती जारी गर्दै पार्टीको घोषित सिद्धान्त र आदर्शको पालना गर्दै आपसी सम्मान र भाइचारालाई जीवन्त राखेर अघि बढ्न आग्रह गरेका हुन् ।
घिमिरेले पार्टीभित्र हुने दाउपेच, षडयन्त्र र एक–अर्काको तेजोबध गर्ने गतिविधिले इमानदार कार्यकर्तामा अन्योल सिर्जना गरेको उल्लेख गरेका छन् । पार्टीको झण्डा, चुनाव चिह्न र आधिकारिकताका विषयमा भ्रम सिर्जना गरी विभाजनको वातावरण बनाउन खोजिएको उनको आरोप छ ।
‘समयको हाँक’ भन्दै लोकप्रियतावादको आवरणमा पार्टीलाई कमजोर बनाउने प्रयास भएको दाबी गर्दै उनले यस्ता गतिविधिले पार्टीभित्रको बन्धुत्व र एकतालाई समेत कमजोर बनाउने बताएका छन् ।
घिमिरेले कांग्रेसको सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध सबै नेता–कार्यकर्तालाई वेदबहादुर थापा मगरको नेतृत्वमा रहेको गुल्मी कांग्रेसमा एकताबद्ध भएर सहभागी हुन आग्रह गरेका छन् ।
त्यसैगरी उनले शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस र डा। शशांक कोइरालाको संयोजनमा अघि बढिरहेको १५औँ महाधिवेशनमा वडा तहदेखि नै सक्रिय सहभागिता जनाउन अपिल गरेका छन् ।
उनले स्थानीय, जिल्ला, प्रदेश हुँदै केन्द्रीय नेतृत्व चयन प्रक्रियामा समेत उत्साहपूर्वक सहभागी भई पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन सबै कांग्रेसजनलाई आग्रह गरेका छन्।


