काठमाडौं–१० (ख) को सभापतिमा बानियाँ विजयी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर १० को प्रदेशसभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी भएका छन्।
मंगलबार सम्पन्न अधिवेशनमा बानियाँले १०८ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी प्रचण्डमान गोपालीले ५४, सिद्धिलाल महर्जनले ४९ र बाबुशरण महर्जनले ३१ मत प्राप्त गरे।
निर्वाचित भएपछि बानियाँले आफूलाई विश्वास गरेर मतदान गर्ने एकाइ सभापति, क्षेत्रीय प्रतिनिधि तथा कांग्रेसका सम्पूर्ण साथीहरूप्रति आभार व्यक्त गरेका छन्।
उनले निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै अब सबैलाई समेटेर संगठनलाई एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।
‘निर्वाचनमा प्रतिस्पर्धा स्वाभाविक हो, अब सबैको साथ र सहकार्य आवश्यक छ,’ बानियाँले भने, ‘सबैका भावना र विचारलाई सम्मान गर्दै कांग्रेसलाई थप मजबुत बनाएर अघि बढ्नेछु।’
बानियाँले आफ्नो जितलाई व्यक्तिगत विजयका रूपमा नभई सम्पूर्ण कांग्रेसजनको विजयका रूपमा लिएको बताएका छन्। उनले आगामी दिनमा संगठनलाई अझ गतिशील बनाउँदै कार्यकर्ताको भावना र अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।


