१४ आश्विन २०८३, बुधबार | September 30, 2026

मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेस अधिवेशनस्थलमै झडप, शेखरनिकट कार्यकर्ताले अधिवेशन बिथोलेको आरोप


September 30, 2026
332
Shares

मोरङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा बुधबार झडप भएको छ। सुन्दरहरैँचामा आयोजित अधिवेशनमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद चर्किएपछि तोडफोड र कुटपिट भएको हो।

अधिवेशनमा बुधबार उम्मेदवारी मनोनयन गर्ने कार्यसूची थियो। तर, कार्यक्रम औपचारिक रूपमा सुरु हुनुअघि नै विवाद बढेपछि तोडफोड र हातपात भएको थियो। त्यसपछि अधिवेशन प्रक्रिया प्रभावित बनेको छ।

घटनामा कांग्रेस क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायत घाइते भएका छन्। उनीहरूको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ। कांग्रेस सहमहामन्त्री डा। डिला संग्रौलामाथि समेत हातपात भएको दाबी गरिएको छ।

मोरङ–६ मा क्रियाशील सदस्यताको विषयलाई लिएर यसअघि पनि अधिवेशन प्रक्रिया प्रभावित भएको थियो। गत असोज ४ गतेदेखि सुरु हुनुपर्ने वडा अधिवेशनसमेत क्रियाशील सदस्यको नामावली समयमै नआएपछि रोकिएको थियो।

मोरङ–६ कांग्रेस नेता डा। शेखर कोइरालाको निर्वाचन क्षेत्र हो। उनी कांग्रेसको पछिल्लो विशेष महाधिवेशन प्रक्रियामा सहभागी नभएको पृष्ठभूमिमा यहाँको अधिवेशनलाई कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षसँग जोडेर हेरिएको छ।

संस्थापन पक्षले भने अधिवेशन बिथोल्न शेखर कोइरालानिकट कार्यकर्ताहरू सक्रिय भएको आरोप लगाएको छ। यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि भएको छैन। यसअघि पनि मोरङ–६ मा अधिवेशन रोकिँदा क्रियाशील सदस्यता व्यवस्थापनलाई लिएर कांग्रेसभित्रै आरोप–प्रत्यारोप चलेको थियो।

घटनापछि अधिवेशनस्थलमा केही समय तनावको अवस्था सिर्जना भएको छ। अधिवेशन कसरी अघि बढाउने भन्ने विषयमा कांग्रेसका सम्बन्धित नेताहरूबीच छलफल भइरहेको छ।

प्रतिक्रिया