पूर्वराष्ट्रपतिको सुविधा र सेनाको सुरक्षामाथि रायमाझीको प्रश्न– ‘दलीय विकृतिको भारी नेपाली सेनाले बोक्ने होइन’
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै पूर्वराष्ट्रप्रमुखका रूपमा प्राप्त गर्दै आएको सुविधा र सुरक्षाको विषयमा पनि प्रश्न उठ्न थालेको छ। यही विषयलाई लिएर राजनीतिक विश्लेषक प्रकाश रायमाझीले सरकार र नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएका छन्।
रायमाझीले देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला राजनीतिक दलहरू आफ्नै दलीय चिन्तामा केन्द्रित भएको टिप्पणी गरेका छन्। पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएपछि उनलाई पूर्वराष्ट्रप्रमुखका रूपमा उपलब्ध हुँदै आएको सुविधा तत्काल फिर्ता गर्नुपर्ने उनको धारणा छ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पूर्वराष्ट्र प्रमुखको हैसियतमा पाएको सुविधा तत्काल सरकारले फिर्ता गर्नुपर्छ।’
रायमाझीले पूर्वराष्ट्रप्रमुखको सुरक्षाका लागि उपलब्ध गराइएका सुरक्षाकर्मी राजनीतिक दलको कार्यकर्ताका रूपमा सक्रिय व्यक्तिको सुरक्षामा प्रयोग हुन नहुने तर्क गरेका छन्।
उनका अनुसार पूर्वराष्ट्रप्रमुखलाई दिइएको सुविधा राजनीतिक दलमा सक्रिय भएलगत्तै स्वतः खारेज हुने गरी मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ।
‘सेना पार्टीको कार्यकर्ताको सुरक्षाकर्मी होइन’
रायमाझीले विशेषगरी नेपाली सेनाको सुरक्षासम्बन्धी भूमिकामाथि प्रश्न उठाएका छन्। पार्टीको सक्रिय राजनीतिमा रहेका व्यक्तिको सुरक्षामा नेपाली सेनालाई प्रयोग गर्ने व्यवस्था स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।
‘नेपाली सेनाले पनि पार्टीको कार्यकर्ताको सुरक्षाकर्मी भएर हिँड्ने परम्पराको अन्त्य गर्न प्रधानमन्त्री नै रक्षामन्त्री भएको समयमा तुरुन्त निर्णय कार्यान्वयन गराओस्,’ उनले भनेका छन्।
उनले नेपाली सेनाको दायित्व राष्ट्रप्रति हुने भन्दै दलीय राजनीतिसँग सेनालाई जोड्न नहुने धारणा राखेका छन्।
‘दलीय विकृतिको भारी नेपाली सेनाले बोक्ने होइन। सेना देशप्रति प्रतिबद्ध हुन्छ,’ रायमाझीको भनाइ छ।
उनले राजनीतिक दलका नेताको सार्वजनिक कार्यक्रममा समेत सेनाका सुरक्षाकर्मी खटिने अवस्थामाथि प्रश्न उठाउँदै संविधानले सेनालाई कुनै अमुक पार्टीका नेताको राजनीतिक कार्यक्रममा सहयोगी भूमिकामा खटिन निर्देशन नगरेको टिप्पणी गरेका छन्।
‘अमुक पार्टीको नेताले भाषण गर्दा सेनाले पछाडि बसेर छाता उडाउनु भनेर संविधानले भनेको छैन,’ उनले लेखेका छन्, ‘समस्त देशभक्त नेपालीको आवाज हो सरकारले तुरुन्त कार्यान्वयन गरोस्। सेना देशको हो पार्टीको होइन’
रायमाझीले सरकारलाई पूर्वराष्ट्रप्रमुखको सुविधा र राजनीतिक दलमा सक्रिय व्यक्तिको सुरक्षासम्बन्धी व्यवस्थाबारे तत्काल निर्णय लिन आग्रह गरेका छन्।
उनले आफ्नो टिप्पणीको अन्त्यमा नेपाली सेनाको परम्परागत अभिवादन ‘जय जय काली, जय जय गोरख’ उल्लेख गर्दै लेखेका छन्– ‘सबैलाई चेतना भया।’
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि एमालेमा पुनः सक्रिय हुने निर्णय गरेकी हुन्। एमालेले उनलाई अहिले वरिष्ठ नेताको जिम्मेवारी दिएको छ।


