तनहुँ कांग्रेसमा संस्थापन पक्षभित्रै दुई खेमाको भिडन्त, न्यौपाने र मौरती आमनेसामने
क्षेत्रीय सभापतिका लागि खनाल र हड्खलेको चर्चा, त्रिपाठीको सम्भावित उम्मेदवारीले थपिँदैछ प्रतिस्पर्धा
दमौली, १० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै तनहुँ कांग्रेसमा आन्तरिक राजनीतिक प्रतिस्पर्धा चर्किन थालेको छ। पार्टीको १४औँ महाधिवेशनमा एउटै कित्तामा उभिएका निवर्तमान जिल्ला सभापति बैकुण्ठ न्यौपाने र क्षेत्रीय सभापति श्याम मौरती यसपटक संस्थापन पक्षभित्रै फरक–फरक खेमाको नेतृत्व गर्दै चुनावी मैदानमा उत्रिने तयारीमा छन्।
१४औँ महाधिवेशनमा एउटै पक्षमा रहेका न्यौपाने र मौरतीबीचको दूरी बढ्दै जाँदा तनहुँ कांग्रेसको क्षेत्रीय अधिवेशनमा संस्थापन पक्षभित्रै प्रतिस्पर्धा हुने देखिएको छ। दुवै नेताले आ–आफ्नो पक्षबाट उम्मेदवार अघि सार्ने तयारी गरेपछि क्षेत्रीय सभापतिको निर्वाचनलाई चासोका साथ हेरिएको छ।
मौरती नेतृत्वको खेमाबाट विशेश्वर खनाल क्षेत्रीय सभापतिको उम्मेदवारका रूपमा प्रस्तुत भइसकेका छन्। खनाललाई जिल्ला सचिव लक्ष्मीभक्त खनालको समेत पूर्ण समर्थन रहेको बताइएको छ। यसले मौरती पक्षलाई आफ्नो उम्मेदवार अघि बढाउन थप बल पुगेको देखिन्छ।
यता, निवर्तमान सभापति न्यौपाने पक्षबाट सूर्यचन्द्र हड्खले क्षेत्रीय सभापतिको उम्मेदवार बन्ने सम्भावना बढी देखिएको छ। तर, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी पनि क्षेत्रीय सभापतिको आकांक्षी रहेकाले न्यौपानेको समर्थन कसलाई रहने भन्ने विषय अझै खुल्न सकेको छैन।
त्रिपाठीले उम्मेदवारी दिएमा न्यौपाने पक्षको रणनीतिमा फेरबदल हुन सक्ने आकलन गरिएको छ। न्यौपानेले हड्खलेलाई अघि बढाउँछन् वा त्रिपाठीलाई समर्थन गर्छन् भन्ने विषयले क्षेत्रीय अधिवेशनको प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिन्छ।
संस्थापनभित्रै शक्ति परीक्षण
तनहुँ कांग्रेसमा न्यौपाने र मौरतीबीच देखिएको प्रतिस्पर्धा केवल क्षेत्रीय सभापतिको उम्मेदवार चयनमा सीमित छैन। यसले पार्टीभित्र संस्थापन पक्षको आन्तरिक शक्ति सन्तुलन र आगामी नेतृत्वमा प्रभाव जमाउने प्रयासलाई समेत प्रतिबिम्बित गर्ने देखिन्छ।
दुवै नेताले आ–आफ्नो पक्षबाट उम्मेदवार अघि सारेपछि क्षेत्रीय प्रतिनिधिहरूको समर्थन कसको पक्षमा जान्छ भन्ने चासो बढेको छ। उम्मेदवारको व्यक्तिगत प्रभाव, स्थानीय राजनीतिक सम्बन्ध र नेताहरूबीचको समीकरणले निर्वाचनको परिणामलाई प्रभावित गर्न सक्ने देखिन्छ।
मौरती र न्यौपाने पक्षबीचको रस्साकस्सीलाई नजिकबाट नियालिरहेका कांग्रेस नेताहरूका अनुसार, असोजे झरीले मौसम चिसिँदै गए पनि निवर्तमान सभापति न्यौपानेको राजनीतिक दौडधुप भने बढिरहेको छ।
क्षेत्रीय सभापतिका आकांक्षीहरूको अन्तिम टुंगो, उम्मेदवारलाई प्राप्त हुने समर्थन र अन्तिम समयमा बन्ने समीकरणले तनहुँ कांग्रेसको आगामी अधिवेशनमा संस्थापन पक्षभित्रको प्रतिस्पर्धाको दिशा निर्धारण गर्नेछ।
एकै पक्षमा उभिएका दुई नेताबीचको प्रतिस्पर्धाले तनहुँ कांग्रेसको अधिवेशनलाई थप रोचक बनाएको छ। अब हेर्न बाँकी छ, क्षेत्रीय सभापतिको चुनावी मैदानमा न्यौपाने र मौरतीमध्ये कसको रणनीतिले कति प्रभाव पार्छ।


